
काठमाडौं । देशभरका पहाडी जिल्लामा भन्दा पूर्वी तराईका केही जिल्लामा जग्गाको कारोबार बढी भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार माघ महिनामा भएको जग्गाको कारोबारमा पूर्वी तराईका केही जिल्लामा जग्गाको कारोबार तुलनात्मक रुपमा बढी भएको देखिएको हो ।
तथ्यांकअनुसार माघ महिनामा झापा जिल्लामा २८ सय १४ लिखत पारित र १९० वटा नाम सारी भएको छ । त्यस्तै, मोरङ जिल्लामा ३०३०, सुनसरीमा २३२०, सप्तरीमा १६९६, सिराहामा २०९१, धनुषामा २०९२, महोत्तरीमा १४९७, सर्लाहीमा १८८७ र रौतहटमा १४९० वटा लिखत पारित भएको छ ।
माघ महिनामा बारा जिल्लामा १५ सय, पर्सामा एक हजार र चितवनमा एक हजार भन्दा बढी घरजग्गाको लिखत पारित भएको छ ।
विभागको तथ्यांकअनुसार माघ महिनामा देशैभरी ५० हजार ९२१ लिखत पारित र ५ हजार ४ सय ८० वटा नामसारी भएको छ । पुस महिनामा देशैभरी ४५ हजार २७५ लिखत पारित र ३ हजार ९०९ नामसारी भएको थियो ।
काठमाडौं उपत्यका र पूर्वी तराईका केही जिल्लाको तुलनामा भने पहाडी जिल्लाहरुमा जग्गाको कारोबार संख्या न्यून देखिएको छ । हिमाली जिल्लामा मनाङमा माघ महिनामा एउटा पनि घरजग्गाको कारोबार भएको छैन भने मुस्ताङमा ५ वटा लिख पारित भएको छ ।
काठमाडौंमा पनि बढ्यो जग्गाको कारोबार
माघ महिनामा काठमाडौं जिल्लामा २ हजार २१२ वटा लिखत पारित र २०९ वटा नामसारी को कारोबार भएको छ । अघिल्लो महिना पुसमा भने काठमाडौं जिल्लामा १ हजार ७६३ वटा लिखत पारित र २०७ वटा नामसारी भएको थियो ।