
काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले अधिकांश कामहरुलाई स्वचालित प्रणालीमा विकास गरेको छ । जसले गर्दा स्वदेशी तथा विदेशी नागरिकले विभागबाट गर्नुपर्ने भिसा प्राप्ति लगायतका प्रकृयालाई अगाडि बढाउँदा कर्मचारीसँग ठोक्किएर गर्नुपर्ने काममा न्यूनिकरण हुन पुगेको छ ।
शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर विभागले अधिकांश सेवा डिजिटाइजेसन गरिएको जानकारी दिएको हो । विभागबाट लिइने सेवाको लागि दिनुपर्ने आवेदन, बुझाउनुपर्ने शुल्क र स्वीकृतिको सम्पूर्ण प्रकृया स्वचालित बनाइएको विभागका महानिर्देशक रुद्रमानसिंह तामाङले पत्रकार सम्मेलनमा बताए ।
उनले भिसामा टिकट टाँस्नको लागि मात्रै विभाग वा विभागको कुनै पनि कार्यालयबाट गर्न सकिने व्यवस्थाको शुरुवात गरिएको बताए । विभागबाट लिने सेवा शुल्कको लागि सबै बैंकको क्यूआर कोड, कनेक्ट आइपिएस, इसेवा र खल्तीलाई प्रयोग गर्न सकिने उनको भनाइ थियो ।
विभागको प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, भन्सार, इन्टरपोल, वैदेशिक रोजगार विभाग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रणालीसँग आबद्धता गरिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार विदेशी नागरिकले भिसा आवेदनको प्रकृयामा बुझाउनुपर्ने शुल्कको लागि महालेखा नियन्त्रक कार्यालयको सहजिकरणमा प्रणाली निर्माण गर्नको लागि पनि समन्वय भइरहेको छ ।
क्रस बोर्डर भुक्तानीको व्यवस्था कार्यान्वयनमा आएपछि विभागले इ–भिसा जारी गर्ने महानिर्देशक तामाङले बताए । विभागले शुक्रबारबाट नै पुरानो वेबसाइटलाई अपग्रेड गरी नयाँ सुविधासम्पन्न बनाएको छ ।
विभागले सेवामा डिजिटाइजेसनको विकास गरेसँगै फागुन १ गतेदेखि नै दैनिक सेवा अवधिलाई विस्तार गरेर बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म वर्षमा ३६५ दिन नै सेवा दिने घोषणा गरेको छ । त्यसको लागि सिफ्टमा कर्मचारी परिचालन गर्ने व्यवस्था लागू गरिने महानिर्देशक तामाङले बताए ।
आकर्षणको केन्द्र बनेको विभागमा काम गर्ने कर्मचारी पाइन छाडे
विगतदेखि कर्मचारीले जानको लागि तँछाड मछाड गर्ने गरेको अध्यागमन विभाग डिजिटाइजेसनमा अगाडि बढेपछि भने काममा जान चाहने कर्मचारीको अभाव हुन थालेको छ । शुक्रबार विभागको ई–भिसा, अफिस अटोमेसन र अनलाइन पेमेन्ट कार्यक्रमको शुभारम्भमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले विभागमा कर्मचारीले खटिन रुची नदेखाएको बताए ।
प्रशासनिक सुधारको विषयलाई अगाडि बढाइसकेपछि विभागमा कर्मचारीको आवश्यक संख्यामा पनि कमि भएको र खट्न चाहने कर्मचारी पनि नपाइएको उनको भनाइ छ । ‘अहिले अध्यागमनमा जान कोही मान्दैन, पहिला अध्यागमनमा जानको लागि सोर्सफोर्स लाउने स्थिति थियो’, मन्त्री श्रेष्ठले भने, ‘अध्यागमनमा जुन र्याकेट थियो, भिजिट भिसामा जानेले दुःख पाउने र आर्थिक रुपमा शोषण झेल्नुपर्ने, त्यो जालो तोडेका छौं ।’
भिजिट भिसाको १७ बुँदे कार्यविधि खारेज गरेर खटिने कर्मचारीको नयाँ मापदण्ड गरेर कार्यान्वयन गरेको उनले बताए । साथै उनले कर्मचारीको अभावका कारणले यतिबेला अध्यागमनमा लाइन लाग्ने अवस्था जस्तो देखिएकोमा त्यसको छिट्टै अन्त्य गर्ने पनि बताए ।