काठमाडौं । नागरिक लगानी कोषको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६.३८ प्रतिशत बढेर ५४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ५१ करोड ३२ लाख रुपैयाँ नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेर २२ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले २१ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
पुस मसान्तसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेर ६८ करोड ४८ लाख रुपैयाँ गरेको छ । यस्तै, कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेर ९२ करोड ४५ लाख रुपैयाँ र कुल खर्च ३१.०२ प्रतिशत बढेर १९ करोड ६५ लाख रुपैयाँ गरेको छ ।
समीक्षा अवविमा कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ सञ्चित छ ।
कोषको प्रतिसेयर आम्दानी ३.६० रुपैयाँ घटेर २०.५५ रुपैयाँमा सीमित रहेको छ । कोषको प्रतिसेयर नेटवर्थ १६५.८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ ।