काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन् ।
मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताउँदै उनले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताए । उनका अनुसार अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको छ । समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको बताउँदै उनले डुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिए ।
‘विभिन्न कम्पोनेन्ट ब्रिक डाउन गर्दा आयोजनाको हालसम्मको प्रगतिमा ६८.५ प्रतिशत सुरुङ मार्ग लगायतमा खर्च भएको छ । घर टहराको ९५ प्रतिशत मुआब्जा पूरा भएको छ तर थोरै मात्रै मुआब्जाको समस्या बाँकी छ । मुख्य सुरुङ मार्गको ब्रेक थु्र मार्च ६ मा राख्ने तयारी रहेको छ । हालसम्म ३२ मिटर मात्रै सुरुङ खान्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४४ प्रतिशत काम भएको छ ।’ उनले भने ।
समिति बैठकमा सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाईलाई अगाडि बढाउनुपर्ने धारणा राखे । राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको बताउँदै उनले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको बताए । उनले २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने भएकाले सरकारले कुनैपनि आयोजना शुरु गर्नेलाई नै अन्तिमसम्म आयोजना जिम्मा दिन आवश्यक रहेको भनाई राखे ।
उनले भने ‘नागढुङ्गा सुरुङ मार्ग खन्न ३२ मिटर बाँकी भन्नुभएको छ । यकिन भन्नुभएको छैन । समितिमा आउँदै गर्दा फोनबाट रिपोर्ट लिएको भए हुन्थ्यो । १९ गतेसम्मको रिपोर्ट भन्नहुन्छ । आयोजनाले संसदलाई झुट बोल्नुभयो । ठगि राख्नुभएको छ । हामीलाई ठग्दा तपाईलाई फाइदा हुन्छ । तपाई आफैँ ठगि रहनुभएको छ । अहिलको प्रविधिअनुसार काम गर्न सक्नुभएको छैन । २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने भनिएको छ ।समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने होला । स्रोत सुनिश्चिता भएन भन्ने होला । ठेक्का लिएपछि समयमा निर्माण सम्पन्न नगर्ने लागत र महँगी बढेको मात्रै खेख्ने हुँदा हामी कहाँ पुग्छौं । सरकारले कुनैपनि आयोजना शुरु गर्दा शुरु जसले गर्छ त्यसलाई अन्तिमसम्म आयोजना जिम्मा दिनुपर्छ । जसले समयमा आयोजना पूरा गर्छ उसलाई सम्मान र काम नगर्नेलाई कारबाही गर्नुपर्छ ।’
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुरुङमार्ग निर्माण गर्दा देखिएका जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्य रोक्न नहुने बताए ।
‘नागढुङ्गा सुरुङ मार्ग निर्माण गर्दा देखिएका समस्या समाधान गर्न सकिन्छ । सुरुङको निर्माण सम्पन्न समयभित्रै सक्नुपर्छ । भ्रष्टाचार हुन भएन । सुरुङ निर्माण गर्ने क्रममा प्रभावित क्षेत्रका जनतालाई मर्का परेको छ भने क्षतिपूर्ति दिनुपर्छ । पानीको मुहान सुकेको भए मुहान कसरी पलाउन सक्छ भन्ने विषयमा अध्ययन गराउने विषय सरकारले सोच्नुपर्छ । सुरुङ निर्माण गर्ने भनेर जनताले प्रयोग गर्ने पानीको महान सुकाउन पाइँदैन ।’ उनले भने ।
नागढुङ्गा-नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसहेको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । नागढुङ्गा-नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ ।