काठमाडौं । तीन दिनअघि ‘भीवाईएफ टक’ नामक युटुब च्यानलबाट सार्वजनिक भएको पूर्वयुवराज्ञी हिमानी शाहको अन्तर्वार्ता यो सामग्री तयार पार्दासम्म करिब ६ लाख दर्शकले हेरेका छन् । अभिनेत्री मनिषा कोइराला प्रस्तोता रहेको सो अन्तर्वार्तामा देशको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, जलविद्युत, रोजगारी, राजश्व, रेमिट्यान्स र राजनीति लगायत विषयमा बहस सुन्न र देख्न सकिन्छ । ५६ मिनेटको उक्त अन्तर्वार्तामा हाँसो र रोदनको विषयलाई पनि गज्जबले प्रस्तुत गरिएको छ ।
पूर्वयुवराज्ञी शाहले अन्तर्वार्तामा देशको अर्थराजनीतिको विषयमा सहज र सरलरूपमा व्याख्या गरेकी छन् । शिक्षामा प्रविणता तह पास गरेको बताएकी उनले जनजीवन, जीवनशैली र आम नागरिकमा फैलाउनु पर्ने जागरणको विषयमा पनि मिठो प्रस्तुति दिएकी छन् ।
अन्तर्वार्तामा प्रस्तोताले राजसंस्था हुँदाको जीवन र अहिलेको जीवनको विषयमा शाहको ‘फिलिङ’ बुझ्न खोज्ने प्रयास गरेकी छन् । जवाफमा उनले मुस्कुराउँदै भनेकी छन्- ‘देशको सेवा गर्न पाएकै छु, परिवार पहिले पनि हेर्नु पर्थ्याे, अहिले पनि हेर्नैपर्छ, मलाई पहिले र अहिलेबीच त्यस्तो कुनै फरक महसुस छैन ।’
तर, उनले अहिले जनतामा खुसी नपाएको धारणा राखेकी छन् । ‘म धेरै ठाउँमा जान्छु, त्यहाँ धेरै मानिसहरू खुसी भएको देख्दिनँ, उहाँहरू धेरै गुनासो गर्नु हुन्छ, सबै मिलेर अहिले पनि नेपालको बारेमा सोचेनौं भने पछि धेरै गाह्रो हुनेवाला छ, उनले थप प्रश्न गरेकी छन्, ‘पहिले कृषि प्रधान देश भन्थ्यौं । तर, अहिले देश आयातको भरमा चलिरहेको छ, यो कसरी भयो ?’
उनले अरुलाई दोष नलगाएर समाधानको बाटो रोज्नु पर्ने धारणा पनि राखेकी छन् । उनले यो देशमा दूरदर्शिताको कमी भएको तर्क दिएकी छन् ।
‘हामीले काम गर्न सकेनौं, देशमा रहेको प्राकृतिक स्रोतसाधनको सदूपयोग गर्न सकेनौं, युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकेनौं, यो देशको माटोको माया सबैलाई छ, एउटा परिवालाई छोराछोरीलाई पढाऔं/हुर्काऔं उनीहरूले राम्रो कमाउन सकुन् भन्ने चाहना हुन्छ, हामीले त्यो चाहना पनि पुरा गर्न सकेनौं, रोजगारी दिन सक्यौं भने युवाहरू विदेशमा पढेर पनि स्वदेश फर्किन सक्थे । तर, त्यो वातावरण सिर्जना हुन सकेन, उनी भन्छिन्, ‘परिणामतः युवाहरू विदेसिन बाध्य भए ।’
अन्तर्वार्तामा शाहले दैनिक सयौं युवाहरू विदेसिनु परेको बाध्यतालाई नीति निर्माता र सरकारको कार्यशैली र नीति कार्यान्वयनतर्फको सुस्सतासँग जोडेकी छन् । कुनै बेला नेपाललाई धेरै देशमा भिसाबिनै जान पाइने व्यवस्था भएपनि अहिले त्यो व्यवस्था नहुनुलाई राज्यसत्ता असफलतर्फ उन्मुख रहेको संकेत दिन्छिन् ।
उनी कार्यक्रममा रेमिट्यान्समा देश चल्नु विडम्वना भएको धारणा राख्छिन् । ‘सर्वसाधारण जनताले कर तिरिरहेका छन् । तर, कर तिरेर सरकारबाट के सुविधा पाएका छन् ? उनी थप्छिन्, ‘यो विषयमा जानकारी पाउनु पनि आम नागरिकको अधिकार र हक हो ।’
उनले देशमा भएको प्राकृतिक स्रोतसाधनको सदुपयोग हुन नसकेकोमा दुःख व्यक्त गरेकी छन् । ‘नेपाल सानो छ, बनाउन पनि सजिलो छ, पयर्टन र वातावरणको संरक्षणको कमी छ, देश विकाससँगै संरक्षण गर्न सकियो भने देश अझै मजबुद हुन सक्थ्यो कि,’ उनले भनेकी छन्, ‘बिगार्न धेरै सजिलो छ । तर, सुधार्न धेरै कठीन ।’
नेपाल जलस्रोतमा धनी देश भनेपनि अहिलेसम्म जलस्रोतको क्षमताको विषयमा अध्ययन अनुसन्धान हुन नसक्नु बिडम्वना रहेको धारणा उनी राख्छिन् । ‘जलस्रोतले नेपाललाई कस्तो फाइदा हुन्छ भन्ने विषयमा कुनै अध्ययन भएका छैनन्, नेपालमा जलविद्युतको धेरै सम्भावना छ भन्दा भन्दै पनि सरकारबाट त्यो किसिमको कदम नचाल्नु दुभार्ग्य हो,’ उनले भनेकी छन् ।
हिमालहरूको देशले चिनिने नेपालमा अहिले ती हिमालहरू नाँग्गिएको विषयलाई पनि उनले अन्तार्वार्तामा प्राथमिकताका साथ पस्तुत गरेकी छन् । उनले ‘ग्लोबल वार्मिङ’ले गर्दा हिमालहरू नाँग्गिएको बताउँदै सरकारले यस विषयमा सोच्न नसकेको तर्क दिएकी छन् । पर्यटकीय क्षेत्रहरू फोहोर हुँदै गएको विषयप्रति पनि उनले चिन्ता प्रकट गरेकी छन् ।
अर्को महत्वपूर्ण विषय नेपालीहरूमा संस्कार र संस्कृति गुम्ने खतरा रहेको तर्क उनले दिएकी छन् । ‘पहिले नैतिक शिक्षा पढाइ हुन्थ्योे, संस्कृतिको विषयमा विद्यार्थीलाई पढाइन्थ्यो, अहिले हामीले पढाउन छोडिसक्यौं, अब हाम्रो संस्कृति, मौलिकता र पहिचान गुम्ने खतरा देखिन्छ,’ उनले अन्तर्वार्तामा भनेकी छन् ।
उनले अब सबै एकजुट भएर काम गर्नु पर्ने धारणा पनि अन्तर्वार्तामा राखेकी छन् । सबैको समान बुझाइ र धारणा देश बनाउने भएकोले कोही कसैको दुश्मन बनेर बस्न नहुने तर्क उनको छ । पूर्वयुवराज्ञी शाहले सबैले आफ्नो निहित स्वार्थ त्यागेर देशको विकास चाहेमा नेपालीहरूको समस्या समाधान गर्न सकिने धारणा पनि बलियोसँग पस्केकी छन् ।
‘हामी सबैको सिद्धान्त फरक हो । तर, लक्ष्य एउटै हो, एकअर्कालाई दुश्मन नठानेर आफूलाई भन्दा पनि देशको विषयमा सोच्नुपर्छ, नेतृत्व निस्वार्थ हुनुपर्छ,’ उनले अगाडि भनेकी छन्, ‘अनि पो देश माथि जान्छ ।’
उनले जनता र आफ्नो दूरी कम होस् भन्ने कामना पनि अन्तर्वार्तामार्फत् छिन् । ‘नेपाल आफैं उभियोस् सक्षम होस् भन्ने विश्वास हो, धैर्य हुन सक्नुपर्छ, दुःखमा नआत्तिने र सुखमा नमात्तियो भने दिन सबैको आउँछ,’ उनले आफ्नो दुर्लभ अन्तर्वार्तामार्फत् संशयपूर्ण विचार व्यक्त गरेकी छन् ।
उनले आफ्नो ससुराबुबा तथा पूर्वराजा ज्ञानेन्द्र शाहको ‘इनोसेन्टनेस्’ अर्थात् शालिनताको पनि ‘मार्केटिङ’ गरेकी छन् । ‘बुबालाई जनताको धेरै माया छ, उहाँलाई सबैले साथ दिनुपर्छ, उहाँको मर्का कसैले बुझ्न सकेको छैन, उहाँलाई बोल्न पनि गाह्रो छ,’ उनले पूर्वराजा शाहलाई उदृत गर्दै भनेकी छन्, ‘म मेरो देशमा बस्नु पर्दाको जति खुसी केही छैन, म छोडेर जाने अवस्था पनि छैन, छोड्दा पनि छोड्दिनँ भन्नुहुन्छ, उनले प्रश्न गर्दै भनिन्, ‘तर, उहाँको कुरा कसले बोलिदिने ?’
उनले आफ्नो परिवारमा नेपालप्रतिको माया अपार रहेको पनि बताएकी छन् । उनले भनेकी छन्, ‘यो देशको माया नभएको भए आजसम्म कतै गइसक्थ्यौं होला ।’
उनले राजाको जीवन र जीवनशैलीको विषयमा आम जनतामाझ भ्रम फैलाइएको विषयमा पनि चिन्ता प्रकट गरेकी छन् । ‘राजसंस्था हुँदा राजा र राजाको जीवनशैलीको विषयमा धेरै भ्रम फैलाइएको थियो । तर, पछि मिडियाहरूमा राजाको सामान्य बेडको समेत तस्बिर सार्वजनिक भएपछि धेरैले राजाको जीवनशैलीको बारेमा थाहा पाए, बरु त्यतिबेलाको राजाको भन्दा अहिलेको सरकारमा बस्नेहरूको जीवनशैली महँगो देखिन्छ,’ प्रस्तोता मनिषा कोइरालाले गरेको व्याख्यामा हिमानीले सहमति जनाउँदै थप्छिन्, ‘सत्य कहिल्यै लुक्दैन ।’