चार पटक क्यान्सर लागेर बाँचेकी बबी, ‘आत्मबल अपरिहार्य’

<p>काठमाडौं । कसैलाई क्यान्सर भयो भन्ने सुने मात्र सबैले भन्छन्- ‘बिचरा’ । क्यान्सर भएपछि अधिकांश मानिसको मृत्यु हुन्छ भन्ने विश्वास धेरैको हुने भएकोले पनि त्यो व्यक्तिप्रति त्यो किसिमको सहानुभूति प्रकट गर्छन् । तर, क्यान्सर हुँदैमा मान्छे मर्दैन । बेलैमा उपचार पायो भने क्यान्सर निको मात्र हैन व्यक्ति पूर्णरूपमा स्वस्थ हुन्छ । अहिले क्यान्सरलाई पूर्णरूपमा जितेकाहरू [&hellip;]</p>

काठमाडौं । कसैलाई क्यान्सर भयो भन्ने सुने मात्र सबैले भन्छन्- ‘बिचरा’ । क्यान्सर भएपछि अधिकांश मानिसको मृत्यु हुन्छ भन्ने विश्वास धेरैको हुने भएकोले पनि त्यो व्यक्तिप्रति त्यो किसिमको सहानुभूति प्रकट गर्छन् । तर, क्यान्सर हुँदैमा मान्छे मर्दैन । बेलैमा उपचार पायो भने क्यान्सर निको मात्र हैन व्यक्ति पूर्णरूपमा स्वस्थ हुन्छ । अहिले क्यान्सरलाई पूर्णरूपमा जितेकाहरू पनि धेरै छन् । उनीहरूको अनुभव एउटै छ कि क्यान्सर हुँदैमा मान्छे मर्दैन । तर, कमजोर मनोबलले मान्छेलाई मृत्युको मुखमा पुर्याउँछ । क्यान्सर एक पटक होइन, चार पटक लागेर निको भएकी बबी शाक्य पनि आजभोलि सबैलाई यस्तै सल्लाह दिन्छिन ।

‘क्यान्सर लाग्दैमा अत्तिनु हुँदैन, आत्मबल बढाउनुपर्छ, यति भयो भने जस्तो रोगलाई पनि सजिलै जित्न सक्छौं,’ उनी भन्छिन् । अहिले बबीको काम नै क्यान्सरबाट पीडितहरूलाई हौसला दिने र आत्मबल बढाइदिने छ ।

उनी कहिले अस्पतालमै पुगेर, कहिले बिरामी भएकै ठाउँ पुगेर सल्लाह मात्र हैन सकेजति सबै सहयोग गर्छिन् । उनी साताको एक दिन बिहीवार ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पतालमा पुगेर क्यान्सर लागेर किमोथेरापी गर्न आएका वा अप्रेशन गर्न आएकाहरूलाई आफ्नो कथा सुनाउँदै आत्मबल बढाउन सल्लाह दिन्छिन् ।

बबीले रोगबाट ग्रसित भएर वा डराएर बसेकाहरूलाई सल्लाह दिन थालेको ९ वर्ष भयो । क्यान्सर भएकाहरूलाई सहयोग र सल्लाह दिरहेकी बबीको आफ्नै कहानी छ । २८ वर्षको उमेरमा क्यान्सर रोगको आक्रमणमा परेकी बबी अहिले ५३ वर्षको भइन् । अहिले उनलाई क्यान्सर छैन । उनी पूर्णरूपमा स्वस्थ भइसकेकी छन् । उनलार्ई चारपटक क्यान्सर भएर निको भएको छ ।

यसरी भयो क्यान्सरको पहिचान

‘क्यान्सर- ‘नो एन्सर’ आजभन्दा २६ वर्ष पहिले यस्तै थियो । न नेपालमै चेकजाँच, न राम्रो उपचार, उपचार गराइहाल्न महँगो पनि उस्तै । सोही बेला भयो बबीलाई स्तन क्यान्सर । काठमाडौंको लाजिम्पाटकी बबी शाक्यको आजभन्दा २८ वर्ष पहिले काठमाडौं सीतापाइलाका रविन्द्र शाक्यसँग विवाह भयो । विवाह भएको केही वर्षपछि पेटमा बच्चा बस्यो । तर, समयमै अस्पताल जान नसक्दा पहिलो बच्चाको मृत्यु भयो । त्यसको केही वर्षपछि उनका दुई जुम्लाहा सन्तान जन्मे । एक छोरा, एक छोरी । दुईजना छोराछोरी स्वस्थ्य जन्मदा शाक्य दम्पतीमा खुसी छायो । प्रशस्त मात्रामा दवै जनालाई पुग्ने दुध आउँथ्यो ।

८ महिनासम्म राम्रै थियो । ९ महिना पुग्दा बबीको स्तनमा परिर्वतन देखियो । दुध चुसाउँदा, नहाउँदा स्तनमा साह्रो गिर्खाजस्तै हातमा लाग्न थाल्यो । के भयो होला भन्ने कौतुहलता लाग्यो । बबीले सासु र श्रीमानसँग स्तनमा आएको गिर्खा बारे सुनाइन् । दुवै जनाले दुधकै गाठो परेको भन्दै सामान्यरूपमा लिए । तर, बबीलाई यो उत्तरले चित्त बुझेन । उनले माइती घरमा आमा र काकीलाई पनि समस्या सुनाइन् । उनीहरूले पनि सासु र श्रीमानको जस्तै उत्तर दिए । बबीलाई स्तनमा गिर्खा देखिएमा स्तन क्यान्सर हुनसक्छ भन्ने बारेमा अलि-अलि थाहा थियो ।

‘सबैले मलाई दुधकै गाठो परेको होला भन्नुहुन्थ्यो । तर, मलाई मनमनै शंका लागि सकेको थियो, म चुप लागेर बसिनँ, बरु तुरुन्तै अस्पताल गएँ,’ विकासन्युजसँगको कुराकानीमा बबीले बबीले भनिन्, ‘शंका लाग्ने वित्तिकै म ओम अस्पतालमा गएँ ।’

ओम अस्पतालमा गएर जाँच गर्दा स्तन क्यान्सर भएको थाहा भयो । ‘सुरुमा त डाक्टरले पनि दुध जमेर गाँठो परेको होला भन्थे । तर, जाँच गर्दा क्यान्सर पनि थर्डस्टेपमा पुगिसकेको रहेछ,’ उनले अनुभव सुनाइन् ।

रिपोर्ट आउनै दुई महिना

बबी चेकजाँच गरेर घर फर्किन् । तर, रिपोर्ट दुई महिनापछि आयो । त्यतिबेला रिपोर्टका लागि भारत पठाउनु पथ्र्याे । रिपोर्टमा क्यान्सर भएको देखियो । क्यान्सर भएपछि डाक्टरको सल्लाह अनुसार अप्रेसन गर्ने कुरा भयो । ९ महिनाको दुई बच्चालाई दुध चुसाउँदै आएकी बबीले बच्चालाई दुध नदिएर सुकाउनुपर्ने अवस्थ्या आयो । स्तनको अप्रेशनको लागि दुध सुकाउनु पथ्र्यो ।

ती दिन स्मरण गर्दै बबीले भनिन्, ‘बच्चा भोकले रुन्थे । तर, मैले दुध सुकाउने औषधी खाँदै थिएँ, त्यो बेला एउटी आमाको मनलाई कस्तो भयो होला,’ अप्रेसन अगाडि किमोथेरापी गर्नुपर्छ, त्यसका लागि बबीका श्रीमान भारत गए । दुई पटक किमो थेरापी ल्याएर आए । पटक–पटक भारत आएको देख्दा त्यहाँको एकजनाले भन्नु भएछ,’ ‘तपाईं यसकै लागि यहाँ कति आउनुहुन्छ, काठमाडौँ पनि यो पाइन्छ, अब तपाईं उतैबाट लिनुहोला भनेर सम्पर्क ठेगाना दिएपछि हामीले नेपालबाटै किमो र औषीधी किन्यौँ ।’

‘अहिले एकै अस्पतालमा चेकअप हुन्छ, एकैछिनपछि रिपोर्ट आउँछ, औषधी एउटै अस्पतालमा पाउँछ, पहिलेको भन्दा अहिले धेरै फरक छ, रिपोर्ट आएको दुई महिनापछि एभरेष्ट नर्सिङ होममा अपे्रशन भयो, अपे्रसन सफल भयो,’ मुस्कुराउँदै उनले भनिन् ।

आफन्तको त्यो रुवाबासी

क्यान्सर भएपछि बाँचिदैन भन्ने सोच अहिले पनि छ । त्यो बेला अझ बढी थियो । बबीलाई पनि आफ्नो यात्रा यतिसम्मै रहेछ भन्ने लाग्यो । उनले मन खिन्न बनाइन् । परिवारमा रुवाबासी चल्यो । भेट्न आउने आफन्तको ताँती लाग्यो ।

‘कसैले कठै भर्खरको उमेरमा, बच्चाहरू सानै छन् भन्नुहुन्थ्यो, कोही रोएर जानुहुन्थ्यो, उहाँहरू मसँग यसरी बोल्नुहुन्थ्यो कि अब म आजसम्म मात्र यो दुनियाँमा छु लाग्थ्यो,’ विगत स्मरण गर्दै उनले भनिन् ।

भेट्न आउनेको ताँती र उनीहरूको कुरा सुन्दा बबीलाई पनि मनमनै डर लागिसकेको थियो । दिनहुँ श्रीमान र बच्चालाई हेर्दै रुन्थिन् । यसैगरी उनका दिन, महिना र वर्ष बिते । बबीलार्ई पहिलेको भन्दा निको हुँदै गयो । त्यसपछि आत्मबल बढ्यो ।

‘सबैले बिचरा भनेर मेरो आत्मबललाई मारिसकेका थिए, मेरो बच्चाहरू भोक लागेर रुन्थे, मैले अब मेरो बच्चाको लागि भएपनि म बाँच्नुपर्छ भन्ने अठोट गरेँ, आत्मबल बढाएँ, म जसरी भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो । र, आत्मबलले नै बाँचे, अहिले सम्म बाँचिरहेकी छु,’ उन्ले भनिन् ।

९ वर्षपछि फेरि क्यान्सर

अप्रेशन गरेको ९ वर्षसम्म ठिकै थियो । फेरि अर्को स्तनमा पनि पहिलेको जस्तै गिर्खा देखा प¥यो । त्यसपछि बबीले आफै योजना बनाइन् । उनले कसैलाई थाहा नदिएर अर्कोे स्तनको पनि अप्रेसन गरिन् ।

चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पताल गएर उतै बसिन् । ६ महिनासँग कसैको सम्पर्कमा आइनन् । पहिलो पटक क्यान्सर भएका थाहा पाउँदा घरमा लाइन लाग्नेहरू दोस्रो पटक पनि क्यान्सर भएको थाहा पाउँदा त चिहान नै तयार पारिसक्छन् भन्ने उनलाई लाग्यो ।

दोस्रो पटकको क्यान्सरमा कसैलाई थाहा नदिई उनी चितवन अस्पतालमा बसिन् । ‘कसैले सोधे घुम्न गएका छन् भन्नु भनेर सासुआमालाई भनेँ, हामी दुवै जना अस्पताल गएर बस्यौँ, सबैको सम्पर्कबाट विच्छेद भयौं, ६ महिनापछि अप्रेशन गरेर काठमाडौं फर्कियौं,’ उनले दोस्रो पटकको क्यान्सरको अनुभव सुनाउँदै भनिन् ।

फेरि बोन क्यान्सर

दोस्रो स्तन क्यान्सरको अप्रेसन गरेको एक वर्षपछि फेरि बोन क्यान्सर देखियो । दुई पटक क्यान्सर भएर सफल अप्रेसन गरिसकेकी बबीलाई पुनः क्यान्सर देखियो ।

‘क्यान्सरसँग मेरो घमासान युद्ध चल्यो, एता देखिन्छ फाल्छु, उता देखिन्छ फाल्छु, फेरि पनि अप्रसेन गरेँ,’ ती दिन सम्झदै उनी भन्छिन, ‘दुवै स्तन फालिसक्दा पनि मैले सुख पाइन, फेरि क्यान्सर भयो ।’

उनले क्यान्सर भएकै कारण तीन पटक अप्रेसन गरिन् । अप्रेसन सफल पनि भयो । तीन पटकको क्यान्सर निको भएपछि फेरि छालामा क्यान्सर देखियो । उनले फेरि अप्रेसन गरिन् । सफल भयो ।

‘मैले चार पटक क्यान्सरलाई जितेँ, अहिले क्यानसर फ्री छु, अब फेरि कुनदिन कहाँ देखा पर्छ थाहा छैन, नियमित चेकजाँच गराइरहेकी छु,’ उनी लामो श्वास फेर्दै भन्छिन्, ‘लामो समयसम्म नछोडेको क्यान्सरले अहिले छोडेको छ ।’

परिवारमै क्यान्सर

चिकित्सकका अनुसार स्तन क्यान्सर अथवा क्यान्सरको मुख्य कारण वंशाणुगत हो । बबी परिवारमा पनि धेरै जसोको क्यान्सरकै कारण मृत्यु भएको छ । उनकी आमाको पनि पाठेघरको क्यान्सरले मृत्यु भएको थियो । उनका कान्छा काकाको तीन जना छोराको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो ।

‘परिवारमा कसैलाई ब्रेन ट्युमर, कसैलाई ब्लड क्यान्सर त कसैलाई पाठेघरको क्यान्सर देखिएको छ, मेरो पनि त्यही बंशाणुगत हुनुपर्छ, मैले पनि यसैको सिकार हुनुपर्यो, मेरा छोराछोरीको पनि अहिले नियमित चेकजाँच गराइरहेकी छु, अहिले सम्म सबैलाई ठिक छ,’ उनले भनिन् ।

त्यसपछि बाहिर आएँ

चार-चार पटक चिरिएको शरिर र मैले बाँच्नुपर्छ भन्ने आत्मबिश्वासले बबीका दिनहरू बितिरहेका थिए । मनमा बाँच्छु भन्ने आत्मविश्वास छँदै थियो । तर, कहिलेकाँही परिवारको मायाबाटै कुन दिन अलग भइन्छ भन्ने पनि लाग्थ्यो । उनी चेकअपको लागि अस्पताल गइरहन्थिन् । पटक-पटक क्यान्सरसँग लडेर जितेकी उनलाई डाक्टर दिपकसुन्दर श्रेष्ठले अब घरभित्र होइन बाहिर आएर यही विषयमा काम गर्न सल्लाह दिए ।

डा. दिपकको साथी रिचाको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । उनले साथीको नाममा एउट समुह बनाएर क्यान्सरबाट ग्रस्त भएकाहरूलाई सहयोग गर्ने काम गर्छ । दिपकले त्यही समूहमा आवद्ध भएर अरूलाई प्रेणा दिन आग्रह गरे । त्यसपछि बबी घर छोडेर बाहिर निस्कन थालिन् ।

अहिले उनी साथीहरूसँगै मिलेर क्यान्सरसँग लडिरहेका बिरामीहरूलाई आफ्नो कथा सुनाउँदै आत्मबल बढाउन सहयोग गरिरहेकी छन् । उनी रोगसँग लड्ने सबैभन्दा ठूलो हतियार आत्मविश्वास र मनोबल रहेको बताउँछिन् ।

‘म रोइरहेको बेला मलाई कसैले तिमीलाई केही हुँदैन, निको हुन्छ भनेनन्, छोराछोरीको रुवाई सुनेर मैले म बाँच्नुपर्छ भन्ने विश्वास बनाएँ । र, म अहिलेसम्म बाँचेको छु ।’

Share News