बालुवाटारमा खुल्यो सवा अर्ब बढी लगानीमा लक्जरी बुटिक होटल ‘वर्णवास’

<p>काठमाडौं । काठमाडौंको बालुवाटारमा निर्माण भएको ‘लक्जरियस’ बुटिक होटल ‘वर्णवास’ आज बिहीबारबाट सञ्चालनमा आएको छ । उक्त होटलका सञ्चालक तथा लगानीकर्ता पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईं हुन् । सञ्चालक बजगाईंले विभिन्न कार्यक्रम गर्दै यो महिनाभरिमा पूर्णसञ्चालमा ल्याउने जानकारी दिए । बजगाईंका अनुसार कुल १ अर्ब ३१ करोड रुपैयाँमा निर्माण भएको होटलमा ४८ [&hellip;]</p>

काठमाडौं । काठमाडौंको बालुवाटारमा निर्माण भएको ‘लक्जरियस’ बुटिक होटल ‘वर्णवास’ आज बिहीबारबाट सञ्चालनमा आएको छ ।

उक्त होटलका सञ्चालक तथा लगानीकर्ता पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईं हुन् । सञ्चालक बजगाईंले विभिन्न कार्यक्रम गर्दै यो महिनाभरिमा पूर्णसञ्चालमा ल्याउने जानकारी दिए ।

बजगाईंका अनुसार कुल १ अर्ब ३१ करोड रुपैयाँमा निर्माण भएको होटलमा ४८ कोठा छन् । करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरी बुटिक होटल निर्माण गरिएको हो । होटलमा १८ प्राइभेट ज्याकुजी छ ।

होटलका कोठामध्ये सबैभन्दा ठूलो ६० वर्गमिटरको हुनेछ । यस्तो कोठा प्रत्येक तलामा एक÷एक वटा छ । तर, अन्य कोठा भने ४० देखि ३४ वर्गमिटरको रहेको उनले बताए ।

होटलको बुकिङ खुला भइसकेको छ । अहिले १ सय दिनका लागि एउटा कोठाको १ सय ५० देखि ३ सय अमेरिकी डलरसम्म पर्ने बजगाईंले जानकारी दिए । ‘अलि पछि भने यो महँगो हुन्छ, यसको मूल्य ६ सयदेखि ७ सय डलर पर्न जान्छ,’ उनले भने ।

सञ्चालक बजगाईंका अनुसार तीन तहमा विभाजन गरेर बनाइएको साढे ९ तलाकोे होटलभित्र नेपालका विभिन्न जातजातिको संस्कृति झल्किने वेशभूषा र ग्यालरी राखिएको छ । जहाँ हिमाल, पहाड र तराई गरी सिंगो नेपाल चित्रित गरिएको छ ।

‘यो नेपाली संस्कृति र रहनसहनलाई झल्काउने होटल हो,’ उनले भने, ‘यसले नेपाली जात्रा, पर्व, वेशभूषाको प्रमोट गर्छ । यहाँ भएका सबै रुममा नेपाली र मेटरियल प्रयोग गरिएको छ । कार्पेट हात्तीले खाने घाँसबाट बनेको छ, लालीगुँरासको इम्प्रेसन गरिएको छ । बक्खुको मार्बल छ । होटलमा नेपालमै उत्पादन भएका खानेकुराको स्वाद चाख्न पाइने छ ।’

आफ्नो होटल प्रडक्ट नै फरक भएकाले अहिले काठमाडौंमा सञ्चालन भइरहेका तारे होटलहरूसँग सहजै प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो होटल अरू रेगुलर होटलजस्तो छैन, आफूले सिकेको पनि यही छ र सीप पनि यही छ,’ उनले भने, ‘नेपालमा ठूला भनेर खुलेका होटल बन्द पनि भएका छन्, होटल सांग्रिला, अन्नपूर्णजस्ता होटल बन्दै छन्, हाम्रो प्रडक्ट नै फरक भएकाले चलिरहेकैसँग पनि सहजै प्रतिस्पर्धा गर्न सकिन्छ ।’

अहिले होटलमा कुल १ सय १२ जनाले रोजगारी पाएका छन् ।

Share News