
काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले धार्मिक तीर्थस्थल कैलाश पर्वत र मानसरोवरसम्मको पर्वतीय उडान सुरु गरेको छ ।
सोमबार श्रीको ‘सीआरजे ७०० सिरिजको विमानले नेपालगन्ज विमानस्थलबाट तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान सुरु गरेको हो ।
कैलाश पर्वत तथा मानसरोवर दर्शनको पर्वतीय उडान सफलतापूर्वक सम्पन्न भएको श्रीले जनाएको छ ।
श्रीले पहिलोपटक तिब्बतस्थित कैलाश पर्वतका लागि पर्वतीय उडान उडान गरेको हो । नेपालगन्जबाट नेपाली, भारतीय र तेस्रो देशका धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हासिल हुने श्रीको विश्वास छ ।
श्री एयरलाइनस, भारतीय ट्राभल कम्पनी टुर द टेम्पल, नेपालगन्जको सिद्धार्थ हस्पिटालिटी ग्रुप र काठमाडौंको ट्राभल कम्पनी पथहिल ट्राभलससँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो ।
उक्त उडानमा वरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ यात्रु र चालक दलका ५ सदस्य थिए ।
३५ जनाको वीन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने जानकारी श्रीले दिएको छ ।
साथै, नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपतिसमेत दर्शन गराउने श्रीको योजना रहेको कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए ।