काठमाडौं । पछिल्लो समय सबैको चासो र चिन्ता विदेश जाने युवाहरूको छ । दैनिक हजारौं युवाहरू विदेसिएको भन्दै सर्वत्र चिन्ता छ । तर, विदेसिएका युवाहरू स्वदेश पनि फर्किरहेका छन् । विदेशबाट नेपाल आउने जहाजहरू पनि भरिभराउ भएर नै आउँछन् । विदेश गएर नेपाल फर्किने तिनै युवाहरूलाई लक्षित गर्दै नबिल बैंकले नयाँ कर्जा प्रडक्ट सार्वजनिक गरेको छ ।
बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । नबिल बैंकका साना तथा मझौला उद्यम विभाग प्रमुख अमित श्रेष्ठ स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवारलाई लक्षित गरी उक्त कर्जा योजना ल्याएको बताउँछन् । उनका अनुसार स्वदेश फिर्ता भएका व्यक्तिहरूलाई डिजिटल माध्यमबाट कर्जा उपलब्ध गराइनेछ । साथै, यस प्रडक्टले विदेश गएका धेरैभन्दा धेरै व्यक्तिहरूलाई स्वदेश फिर्ता गराउन मद्दत पुग्ने उनको भनाइ छ ।
‘अधिकांश युवाहरू विदेश जानु भएको छ, उहाँहरू स्वदेश फर्किदा केही न केही सीप सिकेर आउनु हुन्छ, सीपसँगै पुँजी पनि लिएर आउनु हुन्छ,’ उनले भने, ‘त्यो पुँजीलाई नबिल बैंकले जोडेर उद्यम तथा व्यवसायमा रूपान्तरण गर्छाैं, स्वदेशमै केही गर्ने सोच भएर फिर्ता भएका व्यक्तिहरूलाई यसले ठूलाे टेवा पुर्याउँछ ।’
उनले यस प्रडक्टले दीगो विकासलाई पनि जोड्ने बताए । साथै, परिवारसँगको आत्मियता पनि बढाउन मद्दत पुग्ने बताउँदै उनले भने, ‘विदेशबाट नेपाल फर्केर आउनेहरूलाई यो प्रडक्ट विशेष फोकस गरिएको हो, उहाँहरूको कोही परिवारको सदस्यले नेपालमै केही काम गर्न चाहनु हुन्छ भने नबिल बैंकले कर्जा उपलब्ध गराउने छ ।’
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना स्वदेश फिर्ता भएका युवाहरूलाई सजिलो तरिकाबाट कर्जा प्रवाह गर्न बैंकले यस्तो प्रडक्ट ल्याएको बताउँछन् । विदेशबाट सीप सिकेर आएका युवाहरूलाई वित्तीय सहयोग गरेर कार्यान्वयनमा ल्याउन सके अर्थतन्त्रलाई ठूलो राहत हुने उनको भनाइ छ ।
‘विदेशमा सीप सिकेर आएको मान्छेहरू यत्तिकै हल्लिएर बस्नु भन्दा त्याे सीपलाई नै व्यापार व्यवसायमा लगाउन सकियो भने रोजगारी सिर्जना हुन्छ, त्यसले अर्थतन्त्रलाई पनि ठूलो मद्दत गर्छ,’ उनले भने, ‘सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्दा व्यवधान भएपनि १० करोड रुपैयाँसम्मको कर्जामा सहुलियत ब्याजदर तोकेका छौं, जसले गर्दा माइग्रेन्टहरूले पनि औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन टेवा पुर्याउँछ ।’
श्रम स्वीकृति लिने र विदेश जाने ट्रेण्ड अझै बढ्ने देखिन्छ । आगामी दिनमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिन थाल्यो भने यसले देशको अर्थतन्त्रमा पनि सहयोग गर्छ । कर्जा उपलब्ध गराएर उनीहरूले सिकेको सीप र प्राविधिक ज्ञानलाई उद्यममा लगानी गर्न सकिने उनले बताए ।
सरकारले विदेशमा सीप सिकेर स्वदेश फिर्ता भएका व्यक्तिहरूको तथ्याङ्क उपलब्ध गराउन सकेमा उनीहरूको घरदैलोमा गएर बैंकले कर्जा दिन सक्ने सीईओ ढुंगानाको भनाइ छ ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले विदेशमा धेरै प्रकारका सीप, पुँजी लिएर आएकालाई रोजगारी र उद्यमशिलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्ने बताए । प्रवासी नेपालीहरूले विदेशमा सिकेकाे सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ ।
‘यो कर्जा योजना बैंकले व्यवसायिक रुपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रुपमा लिएका छौं,’ अध्यक्ष पौड्यालले भने ।
कसरी पाइन्छ कर्जा ?
श्रेष्ठका अनुसार याे कर्जा लिन नेपाली नागरिकता, व्यवसाय दर्ता भएको प्रमाण वा व्यवसायसँग सम्बन्धित प्रमाण भए हुन्छ । यो प्रडक्ट रेगुलर बैंकिङ भन्दा फरक रहेको र स्थानीय स्रोत साधनको बढीभन्दा बढी प्रयोगमा ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।
श्रेष्ठका अनुसार यस कर्जाको अवधि १० वर्ष रहेको छ भने ब्याजदर पनि सस्ताे छ । अन्य कर्जामा ४ प्रतिशत प्रिमियम लिने गरिएको छ । तर, यस कर्जामा आधार दरमा अधिकतम १.५ प्रतिशत मात्रै प्रिमियम लिने उनको भनाइ छ ।
‘बैंकले सेवा शुल्क ०.५ प्रतिशत मात्रै लिनेछ, नबिल बैंकको नेटवर्कबाट रेमिट्यान्स पठाउने व्यक्तिहरूका विशेष प्याकेज पनि छ,’ उनले भने, ‘यस प्रडक्टमा धेरै प्रमाणको पनि आवश्यक छैन, सबै प्रक्रिया डिजिटल माध्यमबाट गर्छाैं,’ उनले भने ।
ऋणीले आवेदन दिएको ३ देखि ५ दिनभित्र कर्जा स्वीकृत गरेर रकम उपलब्ध गराउने उनको भनाइ छ । जसका लागि प्रोजेक्ट तथा धितोमा आधारित भएर कर्जा दिने श्रेष्ठको भनाइ छ । उनका अनुसार यस प्रडक्टलाई विभिन्न ४ क्याटागोरीमा विभाजन गरिएको छ ।
ग्रामिण क्षेत्र वा सुरुवाती चरणका ऋणीलाई १५ लाख रुपैयाँ, व्यवसाय सुरुवात गरिसकेको वा ग्रोइङ बिजनेशलाई १ करोड रुपैयाँ, स्थापित व्यवसायलाई ५ करोड रुपैयाँ र व्यवासय विस्तार गर्न १० करोड रुपैयाँ कर्जा उपलब्ध गराउने उनले बताए । यस प्रडक्टले अर्थतन्त्रमा समेत योगदान पुर्याउने भएकाले सरकारसँग समन्वय गरेर अघि बढ्ने बैंकको तयारी रहेको उनकाे भनाइ छ ।
सरकारका सचिव भन्छन् : विदेश जान पनि ऋण दिनुपर्छ
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले विदेश जाने युवाहरुलाई बैंकले ऋण दिनुपर्ने धारणा राखे ।
‘विभिन्न देशबाट सीप तथा प्रविधि सम्बन्धी ज्ञान सिकेर फर्किएकाहरूलाई नेपालमा व्यवसाय गर्ने वातावरण बनाउन बैंक तथा वित्तीय संस्थाहरूले सानो पुँजीको कर्जा सहजरूपमा प्रवाह गर्नुपर्छ, वैदेशिक रोजगारमा जाने अधिकांशले मिटरब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको छ, बैंकबाट कर्जा लिएर विदेश जान सक्ने व्यवस्था गरिनुपर्छ, विदेश जानेहरूलाई बैंकले ऋण दिनुपर्छ,’ उनले भने ।
जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र गरिबीका कारण नेपालमा आन्तरिक तथा बाह्य बसाइसराइँ बढिरहेको बताए । अवसरका लागि युवाहरू विदेसीने मात्र नभई देशभित्रै पनि आप्रवासनको ठूलो चक्र रहेको उनको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले विदेशीएका दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले विदेसिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पुर्याउने मेरो विश्वास छ,’ उनले भने ।
वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले प्रडक्ट ल्याएको बताउँदै उनले भने, ‘राष्ट्रिय आप्रवासन नीति बनाउन कार्यदल गठन गरेर काम भइरहेको छ, यो कार्यदलले आन्तरिक र बाह्य आप्रवासनको स्थिति विश्लेषण गरी अबको हाम्रो आप्रवासन तथा रोजगार नीति कस्तो हुनेछ भन्ने विश्लेषण गर्नेछ, आन्तरिक रोजगारी सिर्जना गरेर हाम्रो श्रमशक्ति बाहिर जान नदिनु हाम्रो मुख्य लक्ष्य र जिम्मेवारी हो । त्यसको व्यवस्थापनका लागि अहिले आन्तरिक रोजगारी सूचना प्रणाली तयार भइरहेको छ ।’