
काठमाडौं । संखुवासभामा निर्माण हुने ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनामा साढे ९ अर्ब रुपैयाँ लगानी लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले अगाडि बढाउने उक्त आयोजना निर्माणमा अनुमानित साढे ९ अर्ब रुपैयाँ बजेट लाग्ने देखिएको हो ।
‘अहिले इखुवा खोलाको टेन्डर डकुमेन्टहरू बन्दै छ, उक्त डकुमेन्ट सम्भवतः माघको अन्तिमसम्ममा तयार हुन्छ, जतिसक्दो अध्ययनको काम टुङ्ग्याइ आयोजनाको निर्माणको तयारी गरिरहेका छौं,’ अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका प्रबन्ध निर्देशक फनेन्द्रराज जोशीले भने ।
कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको छ । उक्त प्रतिवेदन स्वीकृत भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाउने तयारीमा कम्पनी छ ।
मन्त्रालयले ईआईएको स्वीकृति दिए पश्चात् फाइनान्सियल क्लोजर पनि हुने जोशीले बताए । ‘इखुवा खोला आयोजनाको लागि लगानी जुटिसकेकाे छैन, लगानी जुटानका लागि विभिन्न वित्तीय निकायसँग अनौपचारिक कुराकानी भइरहेकाे छ । तर, औपचारिक कुरा भइसकेको छैन,‘उनले भने, ‘मलाई लाग्छ यसको फाइनान्सियल क्लोजर छिट्टै हुन्छ, सानो आयोजना भएकाले लगानी जुटाउन समस्या नहोला ।’
मन्त्रालयबाट ईआईए स्वीकृत भएपछि जग्गाको अधिग्रहणकाे प्रक्रिया सुरु हुने जोशीले बताए । उनकाअनुसार आयोजनाको लागि सरकारी र निजी गरेर ५० हेक्टर जमिन आवश्यक पर्छ । कम्पनीले सबै प्रक्रिया सकेर आगामी आर्थिक वर्ष २०८१/८२ बाट मुआब्जा वितरण सुरु गर्ने योजना बनाएको छ ।
आयोजना संखुवासभाको मकालु गाउँपालिकाको वडा नम्बर ३ र ४ मा निर्माण हुनेछ । सो पालिका भएर बग्ने इखुवा खोलामा ६ मिटर अग्लो र १६.५ मिटर लम्बाइको बाँध निर्माण गरी पानीलाई उपयोग गरिनेछ ।
पानीलाई ३६११.५ मिटर लामो सुरुङ र १७७०.५ मिटर लामो पेनस्टक पाइपमार्फत सिरुटार नजिकै निर्माण हुने विद्युतगृहमा खसाली ४० मेगावाट विद्युत उत्पादन गर्ने बताइएको छ ।
उक्त आयोजना निर्माण गर्दा नजिकैको हाइवेदेखि पावर हाउसम्मको पहुँच मार्ग साथै अरुण नदिनमा पक्की पुलको निर्माण गर्नुपर्ने बताइएको छ । प्रबन्ध निर्देशक जोशीले हाइड्रोपावर निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गरी व्यवसायिक रूपमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको पनि बताए । उक्त कम्पनीले संखुवासभामा नै १०६३.३६ मेगावाटको अपर अरूण जलविद्युत आयोजना निर्माणको कार्य पनि अगाडि बढाएको छ ।