विसं २०५७ मा अनेमको जिल्ला समिति सदस्य हुँदै अनेम सङ्घको छैटौँ काठमाडौं जिल्ला सम्मेलनबाट अध्यक्ष बनिन् । विसं २०६१ मा पार्टी जिल्ला कमिटी सदस्य, २०६३ मा पार्टीको महाधिवेशन प्रतिनिधि, २०७० मा राष्ट्रिय प्रतिनिधि परिषद् र २०७७ देखि प्रदेश बालअधिकार समिति सदस्यको जिम्मेवारी सम्हालिन् । त्यस्तै, विभिन्न समयमा भएका महिला अधिकारसम्बन्धी आन्दोलन, विसं २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेल्नुभएकी नेत्री श्रेष्ठ पटक–पटक गिरफ्तार र थुनामा परिन् ।
सङ्घीय संसद्मा प्रतिनिधि भएको एक वर्ष पूरा हुँदै गर्दा संसदीय अभ्यासमा धेरै सांसद अलि कति आफ्नो कार्य क्षेत्रमा व्यस्त हुने, विकासका काममा बढी खट्ने गरेको सञ्चारमाध्यममा आउने गरेको छ । नेत्री श्रेष्ठ भन्छिन्, ‘कानुन बनाउन केन्द्रित हुनुपर्ने सांसद विकास निर्माणमा सक्रिय भए भन्ने जुन कुरा मिडियामा आएको छ, यो मलाई स्वभाविक लाग्छ । किनभने विकासको लागि पनि सांसदले घोषणापत्रअनुरुप बोलिरहनुभएको हुन्छ । म तिम्रो यो काम गर्दिन्छु, त्यो काम गर्दिन्छु । सडक, खानेपानीलगायतका विषय सम्बोधन गर्छु भनेर मत मागिएको हुन्छ ।’
उनले कानुन निर्माण र जनताको आकाङ्क्षाअनुरुप काम गर्नु सांसदको प्रमुख दायित्व भएको उल्लेख गरिन् । ‘विभिन्न समुदाय र वर्गले उठाएका जायज मागलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने हाम्रो मूल दायित्व हो । तर अहिले संसद्मा दर्ता भएका ४२ वटा विधेयकमध्ये एक मात्र विधेयक पारित भएको छ, र एउटा मात्र विधेयकले कानुनको रुप लिएको छ ।’
सांसद श्रेष्ठले सांसदहरुको भूमिका सबैभन्दा बढी संसद् र संसदीय समिति नै हुनुपर्ने भन्दै कानुन निर्माण र संविधानमा व्यवस्था भएको जनताको मौलिक हकलाई कार्यान्वयन गर्न आफूहरु प्रतिबद्धताका साथ लाग्ने दृढता जनाइन् । उनका अनुसार सांसदलाई जनताले निर्वाचित गरेर पठाएको पनि संसद्मा उपस्थित भएर जनसरोकारको विषय उठाउन र कानुन निर्माणमा जनताका कुरा घनिभूत छलफल गर्न जिम्मेवारी दिएको हो । ‘हामीले विशेष गरी सदन र समितिमै ध्यान दिनुपर्ने हो, म आफूचाहिँ सदन र समितिमा नै बढी समय व्यतीत गरिरहेकी छु । अबको दिनमा पनि जनताको पक्षमा आवश्यक कानुन बनाउन केन्द्रित हुनेछु’, उनले भनिन् ।
सङ्घीय राजधानी काठमाडौंको जनप्रतिनिधि भएको नाताले पनि राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्बन्धी नयाँ कानुन निर्माणबारे हालैमात्र छलफल गरेको उनले स्मरण गरिन् । विसं २०२९ मा बनेको कानुनबाटै निकुञ्जको व्यवस्थापन भइरहेको भन्दै उनले पुरानो कानुनलाई परिस्कृत गर्न लागिएको उल्लेख गरिन् । उनले भनिन्, ‘कानुन परिस्कृत गर्न हामी सांसद लागिपरेका छौँ । जनतालाई पनि प्रभावित पार्नुभएन । वन्यजन्तु पनि प्रभावित हुनुभएन । विधेयकमा म सहित धेरै सांसदको संशोधन परेको छ ।’
देशलाई अहिलेको अवस्थाबाट अगाडि लैजान सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठको भनाइ छ । ‘सबै राजनीतिक दल मिलेर मात्रै देश बन्छ । अहिलेको परिस्थिति बेग्लै छ । जनमत पनि सबै मिलेर सरकार चलाउनु भन्ने छ । तर, त्यसो हुन सकेको छैन’, उनले भनिन् ।
एमाले नेत्री श्रेष्ठले आफ्नो पार्टी प्रतिपक्षमा रहेको तर, जनताको पक्षमा निरन्तर बोलिरहेको दाबी गरिन् । उनले भनिन्, ‘एमाले प्रतिपक्षमा छ । जनताको पक्षमा बोलिरहेको छ, काम पनि गर्छ । मध्यपहाडी लोकमार्गलगायतको अधुरो काम पूरा गर्न र जनआकाङ्क्षा पूरा गर्न सरकार र सबै राजनीतिक दल एकताबद्ध भएर जानुपर्ने टड्कारो आवश्यकता छ ।’
भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न अघिल्लो सरकार र वर्तमान सरकारले नारा अघि बढाएकै छन् । सांसद श्रेष्ठको अनुभवमा राजनीतिक दलले भनेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने रहेछ । प्रशासनिक संयन्त्रले उत्तिकै सक्रियता जनाउन जरुरी छ । मन्त्रालय र हरेक सरकारी निकायमा भ्रष्टाचार गर्दिनँ भन्ने सन्देश कार्यालय र कोठा चोटामा लेखिएको छ । तर, ती कर्मचारी संयन्त्रले भ्रष्टाचार न्यूनीकरणका लागि कति प्रयास गरेका छन् ? यो सोचनीय विषय हो । ‘जो कुर्सीमा बस्छ, त्यसले कार्यान्वयन गर्नुपर्छ । ‘ब्युरोक्रेसी’ मा राजनीतिक दलले मात्र भनेर नहुँदो रहेछ । नारामा कार्यालय, भर्याङ, कोठा जहाँतहीँ नारा छन् तर भ्रष्टाचार मौलाइरहेको छ ।’
श्रेष्ठका अनुसार भ्रष्टाचार मौलाउनुमा घुस दिने र लिने दुवै दोषी हुन् । आर्थिक क्षेत्र सुस्त छ, विकास निर्माणले गति लिएको छैन । जनताको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचारजस्तो अपराध र पाप कर्ममा प्रोत्साहन गर्न नहुने सांसद श्रेष्ठले बताइन् । अहिले स्थानीय तहदेखि प्रदेश र सङ्घमा पनि विभिन्न भ्रष्टाचारका विषय आइरहेको भन्दै राष्ट्रसेवकले जनताको पक्षमा काम गर्नुपर्ने धारणा राखिन् ।
सांसद श्रेष्ठले आर्थिक र गरिबीका कारण युवापुस्ता विदेश पलायन भइरहेको र धनी परिवार पनि सम्पत्ति बेचेर विदेश बस्ने प्रवृत्ति बढिरहेको भन्दै नागरिकलाई स्वदेशमै बसेर राष्ट्रको उत्थान र प्रवर्द्धनमा जुट्न प्रेरित गरिनुपर्ने खाँचो औँल्याइन् । उनले भनिन्, ‘विदेशिने लहर चलेको छ, कतिपय बाध्यता पनि छन् । मेरो विचारमा नेपाली भएर जन्मिएपछि विदेश हैन स्वदेशमै सेवा गरौँ राष्ट्रलाई माया गरौँ भन्ने भावना आमनेपालीमा हुनुपर्छ । पढेलेखेका बुद्धिजीवी पनि विदेश पलायन भइरहेका छन् । आर्थिक अवस्थाका कारण श्रमका लागि खाडीमुलुकमा जानुपर्ने अर्को बाध्यता छँदैछ ।’
सांसद श्रेष्ठको भनाइमा नेपालको सगरमाथासहितका हिमाल, अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधतायुक्त मुलुकलाई माया गर्नेको खाँचो छ । ‘पढेलेखेका मानिसले विदेश ताक्ने हैन स्वदेशमै बसेर राष्ट्र निर्माणमा जुट्नुपर्छ । विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनसके भावी पुस्ता र सन्ततिलाई राम्रो हुन्छ’, उनले भनिन् ।
सांसद श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीकोे लक्ष्य र सपनालाई साकार पार्न आम नेपाली सक्रिय भएर लाग्नुपर्ने बताइन् । सरकारले हालको अवस्थालाई सुधार गरेर नेपाली जनतालाई राहत दिनुपर्ने उनले सुझाइन् ।
सांसद श्रेष्ठले एघार महिना संसद्मा जनताका लागि उठाएका योजनाबारे बारम्बार कुरा उठाउदाँ पनि पूरा हुन नसकेकामा आफैँलाई दुःख लागेको गुनासो गरिन् । उनले भनिन्, ‘जनताको काम गर्ने जोश र हुटहुटी थियो ममा । जनतालाई अलिकति सेवा दिनसके राहत मिल्छ । सहरको भएर पनि दुर्गम क्षेत्रमा केही उदाहरणीय काम गर्नुपर्छ भन्ने मेरो उद्देश्य र प्रतिबद्धता थियो । तर, त्यो पूरा हुन नसकेकामा आफैँलाई दुःख लागेको छ ।’
सांसद श्रेष्ठले काठमाडौँको सुन्दरीजल राष्ट्रिय निकुञ्जमा सवारी साधन आवतजावत र नागरिकलाई सहजरुपमा हिँड्डुलका लागि पहल गरिरहेको बताइन् । महिला सशक्तीकरण, साक्षरता अभियान, महिला विद्यालय र समाज सेवासम्बन्धी काम गरेकी सांसद श्रेष्ठले आगामी दिनमा महिला सशक्तीकरण, गरिबीको रेखामुनि रहेका महिलाको जीवनस्तर उकास्ने, शिक्षा प्रणालीको सुधारलगायत विषयमा काम गर्ने प्रतिबद्धता जनाइन् । रासस