काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् ।
आईतबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्स्व समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउने र अरु खालका विकृतिहरु हटाउँदै लैजाने बताए ।
डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे । नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए । आम नागरिकहरु पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने जानकारी दिए । फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
‘फाइनान्सियल सेक्टरले धेरै ठूलो परिवर्तन गरेको छ । जसरी नेपालमा राजनीतिक परिवर्तन ठूलो भयो भनिन्छ, भएको पनि छ, एक खालको इकोसिस्टम हामीले सोचेको भन्दा पनि चाँडो बन्दै गइरहेको छ डिजिटल पेमेण्टमा, यो निकै ठूलो परिवर्तन हो, यसलाई हामीले जोगाएर लैजानुपर्छ र यसलाई थप जोड दिनुपर्छ, डिजिटलाइजेशनको अरु विकल्प छैन, यसले समाजमा सुशासन ल्याउँछ, अरु खालका विकृतिहरु हटाउँदै लैजान्छ, क्यास प्रयोग गरेर हुनसक्ने विकृतिहरु यसले घटाउँदै जान्छ, हामी जाने यही सिस्टम नै हो, डिजिटलाइजेशन नै हो, लेस क्यास नै हो’, उनले भने ।
गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरु लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताए ।