
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन भएको सांसद पद फुकुवा भएको छ । हत्या अभियोगमा फरार भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएको पत्र संसद सचिवालयमा प्राप्त भएपछि आइतबारदेखि उनको निलम्बन भएको पद फुकुवा भएको हो ।
सांसद कोइरीलाई २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएको थियो । कोइरी सोही समयदेखि फरार हुँदै आएकोमा ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
तर, फरार रहेका कोइरी संसदको केही बैठकमा उपस्थिति हुँदा प्रश्न उठेपछि उनी पुनः फरार भएका थिए । त्यसपछि संसद सचिवालयले कोइरीलाई १९ वैशाख २०८० मा निलम्बनमा गरेको थियो ।