काठमाडौं । कुमारी बैंकले आईटी क्षेत्रका कम्पनीहरुलाई दिँदै आएको कर्जाको सरक्षण गर्ने भएको छ । जसको लागि कम्पनीले निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) सँग सम्झौता गरेको हो ।
बैंकले ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनी’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न उक्त कोषसँग सम्झौता गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनी’ को पोर्टफोलियो सुरक्षण गर्नेछ । यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।
कुमारी बैंकले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
कुमारी बैंकले नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् (एनएएस आईटी)सँग साझेदारीमा काम गर्दै आएको छ जस अन्तर्गत बैंकले (एनएएस आईटी) सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले प्राविधिक विशेषज्ञता मार्फत आईटी कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रवद्र्धन गर्दै आएको यूएसआईडी ट्रेड एण्ड कम्पिटेटिभनेससँग विभिन्न तहमा सहकार्य गर्दै आएको छ ।
बैंकले हाल ३०९ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३१४ एटीएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू मार्फत सेवा सुविधा दिँदै आएको छ ।