काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणमा झण्डै ५ करोड रुपैयाँ खर्च भएको छ । अर्थमन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्र संघको ७८औं महासभा र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा ४ करोड ७४ लाख २ हजार रुपैयाँ खर्च भएको हो ।
प्रधानमन्त्री प्रचण्ड गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए भने उतैबाट असोज ५ गते चीन पुगेका थिए ।
यस्तै, चीनको युगान प्रान्तमा आयोजित सातौं चाइना–साउथ एक्स्पोजिसन र २७औं सिचन इम्पोर्ट एण्ड एक्सपोर्ट फेयर कार्यक्रममा सहभागी हुनेहरूका लागि भ्रमण खर्च वापत ५ लाख ७५ हजार रुपैयाँ र एपीजीको क्यानडा बार्षिक बैठकमा सहभागी हुन महानिर्देशक वेदप्रसाद उप्रेतीको भ्रमणका लागि २ लाख २१ हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारमा १० लाख रुपैयाँ खर्च गरेको छ । गत साउनदेखि मंसिरसम्म राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा लाग्ने खर्च वापत ९ लाख ९५ हजार ९३५ रुपैयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ बमोजिम उक्त रकम निकासा गरिएको मन्त्रालयले बताएको छ ।
यस्तै, इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका परिवारलाई राहत स्वरूप प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई १ करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भदौ महिनामा अर्थ विविधिबाट विभिन्न शिर्षकमा ७६ लाख ९९ हजार ७८ हजार रुपैयाँ निकासा भएको छ । अर्थ विविधिबाट विभिन्न शिर्षकमा मन्त्रालयले असोजमा १ करोड ६८ लाख ६८ लाख रुपैयाँ, कात्तिकमा २ करोड ७४ लाख ६३ हजार रुपैयाँ र मंसिरमा १ अर्ब ९५ करोड ८४ लाख निकासा गरेको छ ।
पुँजीगततर्फ १ करोडभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्काे बजेट उपशीर्षकमा साउनमा ५१ करोड १३ लाख रुपैयाँ, भदौमा ७५ करोड ५९ लाख ४८ हजार रुपैयाँ, असोजमा ३ अर्ब २ करोड ६० लाख रुपैयाँ, कात्तिकमा ४३ करोड ९९ लाख रुपैयाँ र मंसिरमा ३ करोड रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कात्तिकमा तिनपिप्ले–रानीपौवा सडक खण्डका लागि १ अर्ब ३३ करोड रुपैयाँ सहमति रकम निकासा गरेको छ । उक्त आयोजनाको लागि सरकारले ४९ करोड ८९ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यस्तै, मंसिरमा विभिन्न ७ वटा आयोजनाका लागि ७ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ सहमति रकम निकासा गरेको छ । साउनदेखि मंसिरसम्म ७८ वटा ऐन, नियमावली, कार्यविधि, निर्देशिका र मापदण्डलाई सहमति प्रदान गरिएको मन्त्रालयले बताएको छ ।
[pdf id=453814]