घोराही । दाङमा वार्षिक ६ सय नौ टन माछा उत्पादन हुने गरेको छ । केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो । अहिले आन्तरिक उत्पादनले बजार मागलाई धान्न थालेको छ । माछाका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताए ।
पछिल्लो समय माछामा आत्मनिर्भर हुँदै गएको उनको भनाइ छ । जिल्लामा पाँचदेखि ७ प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको उनले बताए । जिल्लामा अहिले करिब एक सय ९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । यसमा व्यावसायिक रूपमा एक सय १५ हेक्टरमा माछापालन गर्ने गरिन्छ । अरु प्राकृतिक तथा कृत्तिम जलाशयमा माछापालन हुने गरेको छ । जिल्लामा करिब दुई सय ८५ जना माछापालन किसान रहेका छन् ।
विगतमा कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेसँगै माछा उत्पादन बढेको हो । विगतमा कार्प प्रजातिका कमन, सिल्भर, रोहु, नैनीलगायतका माछापालन हुन्थ्यो ।
अहिले पङ्गास प्रजातिका वैखालगायत माछापालन हुन थालेसँगै माछाको उत्पादन पनि बढेको कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक रूपमा उत्पादन हुने माछाको बजार भने बाह्रैमहिना धान्ने अवस्थामा अझै पुग्न सकेको छैन् । खासगरी, चैत, वैशाख, जेठमा बाहिरबाट माछा आउने गर्छ । बाँकी समय भने यहीँको उत्पादनले बजारको माग धान्ने गरेको छ ।