सङ्ख्या घटेपछि दलित समुदाय चिन्तित, वास्तविक सङ्ख्या आएन

<p>काठमाडौं । राष्ट्रिय जनगणनाको तथ्याङ्कमा घट्दो दलित सङ्ख्याप्रति दलित समुदायले चिन्ता व्यक्त गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय सरोकार नागरिक अभियानको सहकार्यमा आयोजित अन्तरक्रियाका वक्ताले दलित समुदायको यकिन तथ्याङ्क सङ्कलनका लागि सुझावसमेत दिए । उनीहरुले नीति योजना तथा कार्यक्रम तय गर्न जनगणनाबाट प्राप्त तथ्याङ्क महत्त्वपूर्ण भए पनि दलित समुदायको वास्तविक अवस्थालाई जनगणनाले समेट्न [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय जनगणनाको तथ्याङ्कमा घट्दो दलित सङ्ख्याप्रति दलित समुदायले चिन्ता व्यक्त गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय र राष्ट्रिय सरोकार नागरिक अभियानको सहकार्यमा आयोजित अन्तरक्रियाका वक्ताले दलित समुदायको यकिन तथ्याङ्क सङ्कलनका लागि सुझावसमेत दिए ।

उनीहरुले नीति योजना तथा कार्यक्रम तय गर्न जनगणनाबाट प्राप्त तथ्याङ्क महत्त्वपूर्ण भए पनि दलित समुदायको वास्तविक अवस्थालाई जनगणनाले समेट्न नसकेको गुनासो गरे । पूर्वमन्त्री तथा संविधानसभा सदस्य जीतु गौतमले वास्तविक तथ्याङ्क सङ्कलनमा समुदायको भूमिकाप्रति सचेत बताए ।

“हामी आफैँ पनि जनगणनाको अभियानमा कस्तो भूमिका निर्वाह र्गयौँ भन्ने सोच्नुपर्छ, जनगणनाका लागि समुदायका अन्य व्यक्तिलाई उत्साहित र प्रभावित बनाउँदै राज्यलाई जिम्मेवार बनाउन सक्नुपर्छ,” उनले भने ।

अभियन्ता भक्त विश्वकर्माले जनगणनामा दलित समुदायका लागि प्रश्नावलीमा सुधार गर्न सुझाव दिए । “दलित समुदायमा जन्मदर धैरै छ । विदेश जानेमा पनि दलित समुदायका कम छन् तर त्यति हुँदाहुँदै पनि यस समुदायको सङ्ख्या घट्यो, तथ्याङ्क सङ्कलनमा सुधार गर्नुपर्यो,” उनले भने ।

उनले दलित समुदायका धेरै व्यक्तिले गैरदलित थर प्रयोग गर्ने प्रचलनका कारणसमेत दलित समुदायभित्र उनीहरुको गणना छुटेको आशङ्का व्यक्त गरे । “गैरदलितसँग मिल्ने थर कायम गर्ने धेरै दलित समुदायका व्यक्तिहरु हुनुहुन्छ, यसरी गैरदलितमा मिश्रण हुने झन्डै तीन लाख छन्,” उनले भने ।

सरोज दिलु विश्वकर्माले विदेशमा रहेका दलितको सङ्ख्या गणनामा छुटेको बताए । उनले तथ्याङ्क सङ्कलनमा दलित समुदायकै व्यक्ति परिचालन गर्दा उपयुक्त हुने सुझाव राखे । उनले भने, “विदेशमा रहेका करिब २२ लाख जनसङ्ख्यालाई मूल जनसङ्ख्यामा गणना गरिएको छैन, मेरो आफ्नै परिवारका धेरै सदस्य विदेशमा हुनुहुन्छ, उहाँहरु पनि छुट्नुभयो ।”

दलित महिला सङ्घका पूर्वअध्यक्ष दुुर्गा सोवले पछिल्लो जनगणनाको २ वर्ष बितिसक्दा पनि विश्लेषण हुन नसकेको भन्दै तथ्याङ्क कार्यालयको ध्यानाकर्षण गराए । अन्य वक्ताले दलित समुदायभित्र पनि वर्गका आधारमा छुट्याउँदै चरम गरिबीमा रहेको सङ्ख्या र अवस्था प्रस्तुत गर्न आग्रह गरे ।

राष्ट्रिय जनगणना विसं २०७८ अनुसार दलित समुदायको सङ्ख्या कूल जनसङ्ख्याको १३.४ अर्थात् ३९ लाख ४६९ रहेको छ । त्यसमा दलित समुदायका २३ वटा जात समावेश छन् । विसं २०६८ को जनगणनामा दलित समुदायको सङ्ख्या कूल जनसङ्ख्याको १३.२१ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनाअनुसार कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा दलित समुदायको बढी बसोबास रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जनगणनाबाट प्राप्त तथ्याङ्कको उपयोगी साबित भए÷नभएको भन्नेबारेमा सुझाव सङ्कलनका लागि अन्तरक्रिया महत्वपूर्ण भएको बताए ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले जातजातिहरुको अलग्गै विषयगत प्रतिवदेन तयार गर्ने योजनाबारे जानकारी दिए । उनले नेपाल बाहिरका विभिन्न देशमा रहेका करिब २२ लाख व्यक्ति कूल जनसङ्ख्यामा नसमेटेको जानकारी दिएका थिए ।

Share News