काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा स्लेट (ढुङ्गा) तथा मार्बलका रूपमा प्रयोग गरिने ढुङ्गाखानी सञ्चालन गर्ने भएको छ । मोदी गाउँपालिकाअन्तर्गत वडा नं. १ भुकताङ्ले, वडा नं. ३ देउराली र वडा नं. ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो। तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो ।
मोदी गाउँपालिकाको गत मङ्गलबार सम्पन्न १९औँ गाउँ अधिवेशनबाट स्लेटखानी सञ्चालन गर्ने योजना पारित भएको हो । गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा माटे लेकमा अवस्थित स्लेट अर्थात् ढुङ्गाखानी सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सङ्घीय र प्रादेशिक निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउने उल्लेख छ । गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको नौ वर्षपछि पहिलोपटक स्लेटखानी सञ्चालनको कार्यक्रम अघि सारिएको हो ।
गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सिर्जना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको अध्यक्ष शर्माले बताए । उनले सम्भाव्यता अध्ययनका साथै आवश्यक पहुँचमार्ग निर्माणलगायत योजनाका लागि बजेटसमेत विनियोजन गरिएको बताए । चालु खर्चबाट व्यवस्थापन गर्ने गरी बजेट व्यवस्था गरिएको उनले जानकारी दिए । यहाँबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने अनुमान छ ।
मोदी गाउँपालिकाका तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सानी व्यहोर्नुका साथै स्थानीय सरकारको पनि लाखौँ रुपैयाँ राजस्व गुमेको छ । देउराली, क्याङ र भुकताङ्ले गाविसका बासिन्दाले खानी आआफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको हो ।
सबैले खानीका बारेमा आआफ्नै हिसाबले दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका पूर्वअध्यक्ष नरसिंह पुनले बताए । विवादले चर्को रूप लिएपछि खानी बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो ।
खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेको छ। खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । यहाँ निकालिएका ढुङ्गा साविक धवलागिरि अञ्चलका पर्वत, बागलुङ र म्याग्दीका विभिन्न स्थानमा जाने गर्दथे ।
खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी परिवार पाल्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी नै बन्द भएको छ भने स्थानीय युवाहरू पलायन हुन बाध्य भएका छन् । खानी सञ्चालनबारे पालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएपछि स्थानीयवासी हर्षित बनेका छन्। विकले अब खानी सञ्चालन हुने आशा जागेको बताए ।
विकले खानीमा १० वर्षसम्म काम गरे पनि बेरोजगार हुनुपरेको गुनासो गर्नुभयो। यसैको आम्दानीले विकले चार जनाको परिवार पाल्दै आएको थियो । यहाँका ढुङ्गा घर, गोठ, मचान छाउन प्रयोग हुँदै आएका छन् । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिसहरू अहिले पनि ढुङ्गाले छाउन मन पराउने गर्छन् ।
एकपटक छाएको घर दुई–तीन पुस्तासम्म टिक्ने गाउँलेहरूको भनाइ छ। खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताए । कतिपयले सिङ्गो ढुङ्गालाई पर्खालका रूपमा राख्न लैजाने गरेका थिए । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । केहीले ढुङ्गा कुद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आए पनि अहिले उनीहरू पलायन भइसकेका छन् । यहाँको खानीमा निकालिएका ढुङ्गा छिमेकी जिल्ला बागलुङ, पोखरा, म्याग्दी र काठमाडौं लगिएको स्थानीय पुनको भनाइ छ । उत्तरी पर्वतका अधिकांश वडाका प्रायः सबै घर ढुङ्गाले छाइएका छन् ।
‘पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए,” स्थानीय हर्कबहादुर पुनले भने, ‘अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।’
खानी तीन हजार १०० मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुङ्गा निकाल्दा कुनै असर पर्दैन । प्रशस्त ढुङ्गा भए पनि त्यसै खेर जाँदा गाउँले निराश छन्। ढुङ्गाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई–तीन पुस्तासम्म फेरि छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनले बताए । ‘खानी सञ्चालन गर्न सके गाउँलेको जीवनस्तरमा परिवर्तन आउने थियो । त्यही भएर सरकारी नियमानुसार हामी कार्य गर्न तयार छौँ,’ उनले भने ।
पछिल्लो समय खानीभन्दा केही तलसम्म सडक सुविधासमेत पुगेकाले पोखरा, काठमाडौंलगायतका सहरमा ढुङ्गा लैजान सहज हुने पुनको भनाइ छ । असिना पर्दा र अरू कारणले मात्रै ढुङ्गा फुट्ने र एकपटक लगानी गरेपछि वर्षौँसम्म कुनै झन्झट नहुने भएकाले यो लोकप्रिय बनेको थियो । माटेको ढुङ्गा पाइएमा मानिसहरूले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका स्थानीय नरबहादुर पुनले बताए । ‘अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यतामा छौँ । जिल्ला बाहिरसमेत मार्बलका रूपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चिताका लागि पनि खानी सञ्चालनमा ल्याउनुपर्ने छ,’ स्थानीय गङ्गाबहादुर विकले भने ।