काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था सातौं वर्षमा प्रवेश गरेको छ । लघुवित्त संस्थाले छैटौं वर्ष सफलतापुर्वक पुरा गरी आजदेखि सातौं वर्षमा प्रवेश गरेको हो ।
कम्पनी ऐन २०६३ बमोजिम वि.सं. २०७४ जेठ ३१ मा पब्लिक लिमिटेड कम्पनी भएर स्थापना भएको लघुवित्तले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति लिई कात्तिक २२ गतेदेखि वित्तीय कारोबार सुरु गरेको हो । बैंक तथा वित्तीय संस्था ऐनअनुसार राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।
लघुवित्तले ३१ वटा जिल्लामा सेवा विस्तार गरी ९३ वटा शाखा कार्यालय मार्फत् सेवा प्रदान गर्दै आएको छ । संस्थाले नयाँ कार्यक्रम बिस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेको छ ।
लघुवित्त संस्थाले कुल १ लाख ४ हजार १७१ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको जनाएको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरुको उद्यमशीलता विकास गर्न, व्यवसाय बिस्तार गर्न तथा क्षमता अभिबृद्धि गर्न विशेषज्ञहरुवाट व्यावसायिक साक्षरता तथा सिप विकास तालिम प्रदान गर्ने कार्य प्राथमिकतामा राखेको छ ।
गत असोजसम्म लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ पुगेको छ भने १५ करोड २६ लाख रुपैयाँ जगेडा कोषमा छ ।
लघुवित्तको कुल दायित्व ५ अर्ब ३ करोड ५० लाख रुपैयाँ रहेको छ भने ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असोजसम्म लघुवित्तले ६७ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
लघुवित्तको अध्यक्ष कृष्ण बहादुर थापा रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रेशम न्यौपानेल सम्हालिरहेका छन् ।
सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पुर्ण ग्राहकहरु, नियामक निकाय, संस्थापक तथा लगानीकर्ताहरु, सञ्चालक समिति, कर्मचारीहरु तथा वित्तीय स्रोत प्रदायक बैंक तथा वित्तीय संस्थालाई धन्यवाद ब्यक्त गरेको छ ।
साथै, निरन्तर साथ, सदभाव, विश्वास र सहयोग पाउने अपेक्षा गर्दै सेवा सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।