बैंकको खराब कर्जा साढे ३ प्रतिशत पुग्यो , यही अवस्था रहे यी ६ बैंकले लाभांश वितरण गर्न नपाउने

<p>काठमाडौं । बैंकको खराब कर्जामा ठूलो वृद्धि भएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालुआर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार बैंकहरुको खराब कर्जा औसत ३.४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको खराब कर्जा १.६६ प्रतिशत थियो । यो आर्थिक वर्षको पहिलो त्रैमासमा भने खराब कर्जा धेरै बढेको हो । बैंकहरुले ऋण [&hellip;]</p>

काठमाडौं । बैंकको खराब कर्जामा ठूलो वृद्धि भएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालुआर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार बैंकहरुको खराब कर्जा औसत ३.४ प्रतिशत छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको खराब कर्जा १.६६ प्रतिशत थियो । यो आर्थिक वर्षको पहिलो त्रैमासमा भने खराब कर्जा धेरै बढेको हो । बैंकहरुले ऋण असुलीमा समस्या हुँदा खराब कर्जा बढेको बताएका छन् ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकको रहेको छ भने सबैभन्दा कम एभरेष्ट बैंकको रहेको छ । कृषि विकास बैंकको खराब कर्जा ५.३३ प्रतिशत छ भने सबैभन्दा कम खराब कर्जा रहेको एभरेष्ट बैंकको ०.९९ प्रतिशत छ ।

कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, हिमालयन र ग्लोबल आइएमईको खराब कर्जा उच्च रुपमा बढेको छ । यी बैंकहरुको खराब कर्जा क्रमशः ४.८९ प्रतिशत, ४.८३ प्रतिशत, ४.६९ प्रतिशत, ४.६७ र ४.३८ प्रतिशत रहेको छ । यी बैंकहरुको खराब कर्जा यसै गरी बढेमा ५ प्रतिशतको सीमा नाघ्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय विस्तार गर्न नदिएर ऋण असुलीमा फोकस गराउँछ । खराब कर्जाहरु धेरै हुन गएमा बैंकहरुको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्छ ।

अहिले प्रोभिजनिङका कारण बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटेको देखिन्छ । त्यसैले पनि एक दर्जन बैंकको नाफा पहिलो त्रैमासमा घटेको छ ।

Share News