काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अशोक कुमार पौडेलले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सईिओ) का लागि आवेदन दिएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सीईओ माग गरेकोमा उनको यो ‘थर्ड एटेम्ट’ हो ।
यसअघि कृषि विकास बैंकले पनि सीईओका लागि आवेदन माग गर्दा उनले पनि आवेदन दिएका थिए तर उनले आफ्नो नाम सर्टलिष्टमा पनि पार्न सकेनन् । त्यसपछि उनले सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिए । उनको नाम सर्टलिष्टमा पनि पर्यो । सामाजिक सुरक्षा कोषको कार्यकार निर्देशक भने राष्ट्रिय वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका कबिराज अधिकारी बने ।
उसो त अधिकारीले दोस्रो एटेम्टमा सामाजिक सुरक्षा कोषमा जागिर पाए । उनले पनि कृषि विकास बैंकको सीईओका लागि आवेदन दिएका थिए । तर, उनले नाम निकाल्न सकेनन् ।
यस्तै, बैंकिङ क्षेत्रमा तीन दशक बढी अनुभव भएका पूर्ब बैंकर प्रमोदबाबु तिवारीले पनि नेपाल बैंकमा सीईओका लागि आवेदन दिएका छन् । उनको यो दोस्रो एटेम्ट हो । उनले पनि यसअघि कृषि विकास बैंकको सीईओका लागि आवेदन दिएका थिए । उनी पनि कृषि विकास बैंकका पुर्व कर्मचारी हुन् ।
यतिखेर पूर्ब बैंकर तिलकराज पाण्डे पनि जागिरको खोजीमा छन् । उनले पनि नेपाल बैंकको सीईओका लागि आवेदन दिएका छन् । नेपाल बैंकको पूर्व कर्मचारी समेत रहेका उनले यसअघि कृषि विकास बैंकमा पनि आवेदन दिएका थिए । तर, नाम निस्कन सकेन । नेपाल बैंकमा चिफ म्यानेजरको रुपमा काम गरिसकेका उनी पनि सीईओ बन्ने दौडमा छन् ।
यस्तै, चार वर्षअघि पनि नेपाल बैंकको सीईओका लागि आवेदन दिएका बैंकका पूर्व कर्मचारी राजुनाथ खनालले यस पटक पनि आवेदन दिएका छन् । उनी नेपाल बैंकको नायव महाप्रबन्धकबाट अवकाश प्राप्त कर्मचारी हुन् ।
नेपाल बैंकले खुलाएको आवेदनमा अनुभवी बैंकरले आवेदन दिएका छन् । कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चार्टर्ड एकाउन्टेन्ट कृष्ण आचार्य, सिन्धु विकास बैंकका पूर्व सीईओ रमेशप्रसाद जोशी, नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी विभु प्रसाख अर्याल, तत्कालीन नेपाल बंगलादेश बैंकका डीसीईओ सुरेन्द्र भुषण श्रेष्ठ र कृषि विकास बैंकका पूर्व उपमहाप्रबन्धक ध्रुब चन्द्र गौतम पनि अनुभवी आवेदकका रुपमा परिचित छन् ।
यी केही प्रतिनिधिहरु पात्र मात्रै हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नेतृत्व गर्न चाहने समूह ठूलो छ । परिणाम स्वरुप विभिन्न कम्पनीहरुले खोल्ने आवेदनमा आवेदन दिने बैंकरको संख्या बढ्दै गइरहेको छ । अझ रमाइलो विषय त के भने ती कम्पनीहरुमा आवेदन गर्नेहरु प्रायः समान छन् । हिजो एउटा कम्पनीमा आवेदन दिएका आवेदकहरु पछिल्लो कम्पनीमा पनि उनीहरु नै देखिन्छन् ।
कर्मचारीलाई सीईओ बन्न हतार
उसो त बैंक तथा वित्तीय संस्थाको नेतृत्व गर्ने चाहना, रुची र सपना धेरैको हुन्छ । अर्बौंको पोर्टफोलियो भएको बैंक चलाउन पाउनु आफैमा गौरवको विषय पनि हो । सोही कारणले पनि बैंकमा कार्यरत उच्च तहका कर्मचारीहरु पनि सोही वा अन्य बैंकको सीईओ बन्ने दौडमा देखिन्छन् ।
नेपाल एसबिआई बैंकका चिफ रिस्क अफिसर विष्णुदेव यादव पनि लामो समयदेखि सीईओ बन्ने संघर्षमा छन् । उनले पनि यसअघि कृषि विकास बैंकमा सीईओका लागि आवेदन दिएका थिए भने अहिले नेपाल बैंकको सीईओका लागि पनि आवेदन दिएका छन् ।
यस्तै, कृषि विकास बैंकका डेपुटी जनरल मेनेजर प्रताप सुवेदी पनि सीईओ बन्न बारम्बार प्रयत्न गरिरहेका छन् । उनले पनि यसअघि कृषि विकास बैंककै सीईओ बन्न ठूलो लबिङ गरेका थिए । तर, त्यसमा उनी सफल हुन सकेनन् । उनी सीईओका लागि सर्टलिष्टमा भने परेका थिए । अहिले उनले पुनः नेपाल बैंकको सीईओका लागि आवेदन दिएका छन् ।
यस्तै, नेपाल बैंकको सीईओ बन्न राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीईओ देवेशप्रसाद लोहनीले पनि आवेदन दिएका छन् । नेपाल बैंकभित्रै पनि सीईओ बन्ने प्रतिस्पर्धा छ । बैंकका बहालवाला ती कर्मचारी बैंकको सीईओ बन्ने संघर्षमा छन् ।
नेपाल बैंकका कायम मुकायम सीईओ समता पन्त ‘भट्ट’, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल र जोखिम व्यवस्थापन विभाग प्रमुख सुन्दर पन्थीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि आवेदन दिएका छन् ।
नेपाल बैंककै दुई जना पूर्वकर्मचारीले पनि आवेदन दिएका छन् । तिलकराज पाण्डे र राजुनाथ खनालले पनि सीईओका लागि आवेदन दिएका हुन् । पाण्डे बैंकका पूर्व चिफ म्यानेजर हुन् भने खनाल पूर्व डेपुटी सीईओ हुन् । यस्तै, कृषि विकास बैंकका डेपुटी जनरल मेनेजर दीर्घबहादुर अर्याल पनि नेपाल बैंकको सीईओ बन्ने संघर्षमा देखिन्छन् ।