एजेन्सी । भारतमा बुधबारदेखि व्यावसायिक सिलिन्डरको मूल्य बढेकाे छ । भारतमा सिलिण्डरकाे मूल्य १०१ रुपैयाँ ५० पैसाले वृद्धि भएको हाे । १४.२ किलोको घरेलु प्रयोजनका सिलिन्डरको मूल्य भने बढेको छैन ।
बीक्यूप्राइमका अनुसार व्यावसायिक प्रयोजनका १९ किलो तौलका सिलिन्डरको मूल्य अहिले नयाँदिल्लीमा १ हजार ८ सय ३३ रुपैयाँ भएको छ । कोलकातामा १ हजार ९ सय ४३, मुम्बईमा १ हजार ७ सय ८५ र चेन्नईमा १ हजार ९ सय ९९ रुपैयाँमा व्यावसायिक सिलिन्डर उपलब्ध हुनेछ ।
अक्टोबरमा पनि व्यावसायिक सिलिन्डरको मूल्यमा २ सय ११ रुपैयाँको वृद्धि भएको थियो । त्यसपछि व्यावसायिक सिलिन्डरको मूल्य दिल्लीमा १ हजार ७ सय ३१ रुपैयाँ, कोलकातामा १ हजार ८ सय ३९ रुपैयाँ, मुम्बईमा १ हजार ६ सय ८४ रुपैयाँ र चेन्नईमा १ हजार ८ सय ९८ रुपैयाँ पुगेको थियो ।
यसअघि सेप्टेम्बर सुरुमा व्यावसायिक सिलिन्डरको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको थियो । त्यसपछि अगस्टको तुलनामा करिब १ सय ५८ रुपैयाँले मूल्य घटेको थियो ।
भारतमा सिलिण्डरको मूल्य बढेसँगै नेपालमा पनि बढ्ने सम्भावना बढेको छ । यसअघि नेपाल आयल निगमले मूल्य बढाउँदा सर्वसाधारणबाट विरोध भएपछि सरकारको निर्देशनमा निगमले मूल्य घटाएको थियो ।
जेट इन्धनको पनि बढ्यो मूल्य
तेल मार्केटिङ कम्पनी (ओएमसी) ले पनि एभिएसन टर्बाइन फ्युल (एटीएफ) को मूल्य प्रतिकिलो १ हजार ७४ रुपैयाँ बढाउने निर्णय गरेको छ । यो मूल्य मंसिर १ गतेदेखि लागू हुनेछ ।