काठमाडौं । आफ्नो जन्मभूमी अर्थात् नेपालको समृद्धिमा योगदान पुर्याउने भनेर संगठित भएका गैर आवासिय संघ (एनआरएनए)का पदाधिकारी तथा सदस्यहरु नै एकआपसमा कुटपिट र झैझगडामा व्यस्त हुन थालेका छन् । लामो समयदेखि विवाद झेल्दै आएको एनआरएनएको ११ औं महाधिवेशनमा धाँदली भएको भन्दै विवाद थप चुलिएपछि सामूहिक झैझगडा र कुटपिटमा उत्रिएका हुन् ।
एनआरएनएको सम्मेलनमा कमिटि चयनका लागि प्रयोग गरिएको विद्यु्तीय मतदान प्रणालीमार्फत् नियोजित रुपमा धाँदली गरिएको भन्दै छानविन समिति गठन गर्ने र पुनः मतदान गर्ने जस्ता विषयहरु असन्तुष्ट पक्षले उठाएको थियो । सो विषयमा विजयी पक्षले समेत छानविनमा सहमति जनाएको थियो । तर, सहमति विपरित निर्वाचित अध्यक्ष बद्री केसी सहितको पदाधिकारीले सपथ लिएपछि असन्तुष्ट पक्षले आरके शर्माको नेतृत्वमा समानान्तर कमिटि गठन गरेर अगाडि बढ्ने काम गरेको छ ।
अहिले एनआरएनएमा दुवै पक्षले एनआरएनको कार्यालयलाई एकआपसमा कसले कब्जामा लिने भन्ने होडबाजीमा उत्रिएका छन् । सोही शिलशिलामा एनआरएनको बालुवाटारस्थित कार्यालयमा मंगलबार आरके शर्मा र केसी पक्षका व्यक्तिहरुबीचमा झडपको अवस्था सिर्जना भएको थियो । झडपमा बेल्जियम निवासी पत्रकार ओम शर्मालाई चोट लागेको छ ।
बद्री केसीले दिए उजुरी
मंगलबार एनआरएनएको कार्यालयमा भएको झडपपछि एनआरएनएका निर्वाचित अध्यक्ष बद्री केसीले असन्तुष्ट पक्षको नेतृत्व आरके शर्मासहित ५ जना विरुद्धमा भिन्न–भिन्न अभियोगमा कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । बुधबार अध्यक्ष केसीले जीउ, ज्यान र सम्पत्तिको सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनियाताको विषयलाई लिएर उजुरी दिएका हुन् ।
एनआरएनए दुई समूहमा विभाजित भएपछि संगठनको बैंक खाता रोक्का गर्न असतुन्ष्ट पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन गरेको छ । परराष्ट्रले समेत संघको बैंक खाता रोक्का गर्न निर्देशन दिइसकेको छ । साथै आधिकारिक संघको दाबी गर्दै आरके समूहले परराष्ट्र मन्त्रालयमा आइतबार नै निवेदन समेत दिइसकेको छ ।
महाधिवेशनपछि शुरु भएको विवादलाई सल्ट्याउने पक्षमा निर्वाचित भएको दाबी गर्ने समूह रहेको देखिँदैन भने असन्तुष्ट पक्षले पनि निर्वाचनको परिणामलाई अस्वीकार गर्ने बताउँदै आएको छ । मध्यस्थता गर्ने पक्षको अभाव र दुवै पक्षको आ-आफ्नै अडानका कारण एनआरएनको विवाद थप चुलिँदै जाने देखिन्छ । अझ पछिल्लो समयमा एनआरएनए स्पष्ट रुपमा राजनीतिक दलमा विभाजित हुँदै खोज्दा समस्या थप बढ्ने समेत देखिएको छ ।
१० औं महाधिवेशनदेखि विवाद
एनआरएनएमा अहिले देखिएको विवाद भर्खरै विकास भएको भने होइन । २०७८ चैतमा भएको दशौं महाधिवेशनमा नै एनआरएनए दुई समूहमा विभाजन भएको थियो । त्यसपछि कुल आचार्य, डा. बद्री केसी र रविना थापाले ६/६ महिनामा अध्यक्षको नेतृत्व गर्नेगरी एनआरएनए सञ्चालन भएको थियो ।
विभाजनको डिलमा पुगेर समझदारीमा आइपुगेको एनआरएनको ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भनिएपनि राजनीतिक रुपमा कित्ताकाट हुँदै जाँदा भोटिङ प्रणाली नै कब्जामा लिएर मतपरिणाम तय गरेको आरोप लाग्नेगरी विवाद फेरि थपिएको छ ।
निर्वाचनमा धाँदली भएको समितिको निष्कर्ष
निर्वाचनको नतिजामा विवाद सिर्जना भएपछि असन्तुष्ट पक्षले माग गरेबमोजिम निर्माण भएको छानविन समितिले समेत निर्वाचनमा योजनाबद्ध रुपमा धाँदली भएको ठहरसहित प्रतिवेदन बुझाएको थियो । समितिले निर्वाचन समितिले निर्वाचनका बेलामा गम्भीर अनियमितता गरेको र तथा तेस्रो पक्षले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
निर्वाचनपछिको अवस्थामा एनआरएनए कार्यालय दिनहुँ तनावपूर्ण अवस्थाबाट गुज्रदै आएको छ । एनआरएनका विभिन्न समूहबीचमा झडप हुँदै गएपछि अहिले सो कार्यालयलाई प्रहरीले सुरक्षा दिँदै आएको छ ।
नेपालको समृद्धिमा योगदान पुर्याउने नाममा संगठित हुन शुरु गरेका एनआएरएनएका पदाधिकारी तथा सदस्यहरु नै पद तथा प्रतिष्ठाको लागि लड्न शुरु गरेपछि उनीहरुको आदर्श नै जोखिममा पर्ने देखिएको छ ।