टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय किसान एकराज विष्टले किवीको व्यावसायिक खेती गरिरहेको बताए । विष्टले करिब १० रोपनी क्षेत्रमा तीन वर्षअघिबाट किवीखेतीको विस्तार गरेको उनको भनाइ छ ।
‘वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक किवीखेती गरिरहेको छु’, विष्टले भने, ‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको हुँ । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’
टेम्केमैयुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत कृषिको खेती विस्तारमा सहयोग गरिरहेको जनाएको छ । किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लाग्न प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
‘गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा कामको थालनी गरिरहेका छौँ’, उनले भनिन्, ‘व्यावसायिकरूपमा कृषि कर्ममा लागेका स्थानीयलाई आवश्यक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा नमूना बनाउने हाम्रो लक्ष्य छ ।’
किवीको राम्रो जातको पहिचान गरेर लगाएमा एक बोटबाट एक सयदेखि एक सय ५० केजीसम्म फलाउन सकिने स्थानीय कृषक रत्नबहादुर विष्टले बताए । पछिल्लो समय किवीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको उनको भनाइ छ । गाउँघरका मानिस मकै, आलुखेती छाडेर व्यावसायिक किवीखेतीमा लागेको विष्टले बताए ।
किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यावसायिक खेतीमा लागेका किसानलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसानको भनाइ छ । रासस