
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आगामी माघ महिनाभन्दा अगाडि काठमाडौंमा आउने सम्भावना न्यून देखिएको छ । केही वर्ष अगाडि मेलम्चीमा आएको बाढीले पानी सप्लाई गर्ने हेडबक्समा पुर्याएको क्षति र त्यसपछाडिका वर्षा समयमा भएको क्षतिका कारण मेलम्चीको पानी काठमाडौं आउन समय लाग्ने भएको हो ।
मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार विगतमा मेलम्ची आयोजनाको हेडबक्समा क्षति भएपछि अस्थायी प्रबन्ध गरेर पानी सप्लाई गरिएकोमा यसपटक असम्भव भएका बताएका छन् । हेडबक्समा क्षति पुर्याएर सुरुङभित्र पसेको माटो सफा नगरीकन पानी सप्लाई गर्ने अवस्था नरहेकाले तत्काल अस्थायी प्रवन्ध गरेर पानी सप्लाई गर्ने अवस्था नदेखिएको उनले बताए ।
साथै सुरुङ सफा गर्नको लागि पनि सुरुङ सम्म पुग्ने बाटो निर्माण गर्नुपर्ने र मैसिन लैजानुपर्ने भएकाले त्यसको लागि समय लाग्ने उनको भनाइ छ । ‘वर्षाको समयमा धमिलो सुरुङ भित्र पस्दा बालुवा सबै भरिन्छ भनेर बन्द गरिएको थियो, बन्द गर्न भन्दा अगाडि हामीले बलियो गेट बनाएका थियौं, तर साउनमा र असोजमा पनि बाढी आयो’, उनले भने, ‘हामीले वर्षायाम सकिएपछि पानी ल्याउन सकिन्छ भनेका थियौं, त्यो नहुने भयो अहिले ।’
अस्थायी रुपमा प्रयोग गरिएको सानो सुरुङ पुरै भरिएकोले सफा गर्न पनि समय लाग्ने उनले बताए । फेरि पनि सफा अस्थायी रुपमा पानी सप्लाई गर्न सकिने तर, समय लाग्ने उनले बताए । अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाको काम गर्ने जनशक्ति र तरिकालाई हेर्दा दुई महिनाबढी समय लाग्ने उनको भनाइ छ ।
नयाँ हेडबक्स बनाउन एशियाली विकास बैंकको प्रस्ताव
मेलम्ची खानेपानी आयोजनामा बाढी तथा पहिरोका कारण नियमित रुपमा समस्या आएपछि अहिले भएको हेडबक्स सार्न दातृनिकाय एशियाली विकास बैंकले सुझाव दिएको छ । समितिका सूचना अधिकारी पन्तका अनुसार बैंकले सर्वे गरेर अहिले भएको ठाउँबाट केही माथि हेडबक्स सारेर समस्याको स्थायी समाधान गर्न सुझाव दिएको उनले बताए ।
‘हेडबक्समा पूर्णरुपमा क्षति भएको छ, त्यो ठाउँमा सँधै जोखिममा रहने भयो, ०७८ मा बाढी आएपछि दातृनिकायले चासो दिएर बाढी किन आयो, फेरि आउँछ की आउँदैन, आयो भने रोकथाम गर्न सकिन्छ कि सकिँदैन भनेर पर्याप्त अध्ययन गरेर हामीलाई प्रतिवेदन बुझाएको छ’, उनले भने, ‘प्रतिवेदनमा के सिफारिस गरेको छ भने हेडबक्स अहिले भएको ठाउँबाट केही माथि सार्नुपर्छ ।’
दातृ निकायको प्रतिवेदनका आधारमा काम गर्ने नगर्ने विषयमा निर्णय गर्नुपर्ने र त्यसको लागि थप लागत लाग्ने अवस्था सिर्जना हुने उनले बताए । नयाँ बनाउने हेडबक्सको लागि पनि दातृनिकायले लगानी गर्न तयार भएको उनले बताए ।
नयाँ हेडबक्स निर्माणको लागि २÷३ वर्ष समय लाग्ने भन्दै उनले सो अवधिमा अस्थायी तरिकाले काठमाडौंमा पानी सप्लाई गर्न सकिने विषयमा पनि अध्ययन प्रतिवेदनले औंल्याएको उनले बताए ।