काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
पछिल्लो समय सुनको मुल्य दैनिक बढिरहेको छ । दुई साताअघि एक लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज बढेर १ लाख १३ हजार ७ सय पुगेको हो । अझै सुनको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । यो अवधिमा ७.२६ प्रतिशत बढेको हो । सुनको मूल्य प्रत्येक दिन पाँच सय तथा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रि बजारमा मूल्य बढेको कारण नेपालमा पनि बढेको जानकारहरु बताउँछन् ।
अमेरिकी बजार, यूरोपियन बजार र एसियन बजारहरुमा हुने सुनको कारोबारको समग्र मूल्यले नै विश्वको सुनको बजारमा भाउ तोकिरहेको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा आउने सुनको भाउको उतार–चढावको प्रत्यक्ष असर सुनको नेपाली बजारमा पनि तत्काल नै पर्दछ ।