काठमाडौं । आजभन्दा ६० वर्ष अगाडि स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको इन्द्रचोकमा २ कोठा लिएर सुरु गरेको कर्पाेरेशन हाल देशभरका ९३ शाखा कार्यालय तथा ६ सयवटा डिलर स्थापना गर्न सफल भएको छ । देशको भौगोलिक परिवेश अनुसार देशभर नुन पुर्याउने उद्देश्यसाथ सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गत सुरु गरिएको संस्थाले हाल दैनिक उपभोग्य वस्तुसँगै रासायनिक मलको पनि बिक्री वितरण गर्दै आएको छ ।
देशभरी अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन आपूर्तिलाई व्यवस्थित र नियमित गर्न भन्दै राजा महेन्द्रका पालामा कर्पाेरेशनको स्थापना भएको थियो । यसमा सरकारको २१.२६ प्रतिशत र ७८.७४ प्रतिशत सर्वसाधारणको लगानी छ ।
बार्षिकाेत्सवमा बाेल्दै कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य अनुसार काम गर्दै आएको बताउँछिन् । उनले कोरोना महामारीको अवस्थामा समेत घरदैलोमा सेवा पुर्याएर सबैबाट सद्भाव पाएको धारणा राखिन् ।
‘कर्पाेरेशनले आफ्नो उद्देश्य एवं प्रतिवद्धता अनुसार आमजनतालाई सुपथ एवंम सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तर दिएको छ, संस्था जस्तोसुकै विषम परिस्थितिका बाबजूद पनि आम उपभोक्ताको सेवामा सदैव सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु’, उनले भनिन ।
उनले कृषकहरुको हित र आवश्यकतालाई ध्यानमा राखी रासायनिक मलको अभाव नहोस र कृषकहरुले समयमा मल पाउन भन्नेमा कर्पाेरेशन लागि परेको जानकारी गराइन ।
कर्पाेरेशनले वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीहरुलाई प्रशंसापत्र र एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरा, छोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउदै आएको जानकारी गराए ।
कर्पाेरेशनले सामाजिक उत्तरदायित्व अन्तरगत कर्मचारीदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थालाई सम्मान समेत गरेको छ । वाषिकोत्सवका अवसरमा कर्पाेरेशनले लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार, उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई हेम बहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कार समेत वितरण गरेको छ । यस्तैगरी, २० वर्ष काम गरेका कर्मचारीलाई कदरपत्रले समेत सम्मान गरेको छ ।
अब कृषि क्षेत्रमा प्रत्यक्ष योगदान दिनुपर्छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कर्पाेरेशनले दैनिक उपभोग्य वस्तु जस्तै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान दिनु पर्ने बताए । उनले कर्पाेरेशनले उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउने गर्दै आएकोमा अब कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पुर्याउन सकेमा सरकार अझ कृतज्ञ हुने बताए ।
उपभोक्ताले स्वभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन भन्ने चाहना सरकारको रहेकोमा साल्ट ट्रेडिङबाट ठोस सेवा उपलब्ध भएको महसुस गरिएको उनको भनाइ छ ।
‘नून जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधारणमा सहजरुपमा पुर्याउनु र वित्तीय लगानीको भार खेपेर पनि ६/६ महिनाको सञ्चीति कायम राख्नु सहज कुरा होइन’, उनले भने ।