अब्बल बन्दै नेपाली बैंकर, विदेशी बैंकको कमाण्ड सम्हाल्दै

<p>काठमाडौं । एउटा समय थियो, ‘विदेशी लगानीकर्ता नेपालमा आएपछि उसले व्यवस्थापक अर्थात् लगानी गर्ने कम्पनीमा काम गर्ने उच्च तहका कर्मचारी पनि उतैबाट लिएर आउनु पर्ने ।’ ती लगानीकर्ताहरुले नेपालीलाई न पत्याउँथे नत नेपालमा काम गर्ने क्षमतावान कर्मचारीहरु नै पाइन्थे । त्यसैले पनि बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले लगानीसँगै व्यवस्थापक पनि विदेशी नै [&hellip;]</p>

काठमाडौं । एउटा समय थियो, ‘विदेशी लगानीकर्ता नेपालमा आएपछि उसले व्यवस्थापक अर्थात् लगानी गर्ने कम्पनीमा काम गर्ने उच्च तहका कर्मचारी पनि उतैबाट लिएर आउनु पर्ने ।’ ती लगानीकर्ताहरुले नेपालीलाई न पत्याउँथे नत नेपालमा काम गर्ने क्षमतावान कर्मचारीहरु नै पाइन्थे । त्यसैले पनि बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले लगानीसँगै व्यवस्थापक पनि विदेशी नै हुनु पर्ने नीतिगत व्यवस्था गर्यो । विदेशी लगानीकर्ताले नेपालमा बैंक खोल्न चाहेमा त्यो बैंकको व्यवस्थापकीय नेतृत्व पनि विदेशबाट नै ल्याउने अभ्यास थियो ।

केही नेपाली बैंकमा त्यो अभ्यास अहिले पनि छ । हाल सञ्चालनमा रहेको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा अहिले पनि विदेशी नेतृत्व छ । नेपाल एसबिआई बैंकले पनि अहिलेसम्म नेपाली सीईओ राखेको छैन । एभरेष्ट बैंकले नेपाली सीईओ पाएको धेरै समय भएको छैन । एभरेष्ट बैंकका लागि सुदेश खालिङ पहिलो नेपाली सीईओ हुन् । नबिल बैंकको पहिलो नेपाली सीईओ पनि अनिल केशरी शाह नै हुन् । तर, अहिले विदेशी लगानीकर्ता भएको बैंकहरुमा पनि विस्तारै नेपाली बैंकरले नै नेतृत्व लिइरहेका छन् ।

कुनै बेला बैंकमा काम गर्ने कर्मचारी नै नपाउने अवस्थाबाट सुरु भएको नेपाली बैंकिङ अहिले विदेशी बैंकको कमाण्ड सम्हाल्ने जनशक्ति उत्पादन गर्नेसम्म पुगेको छ । नेपाली अनुभवी पुर्व बैंकर तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे सुरुवाती दिनहरुमा नेपाली बैंकमा काम गर्ने कर्मचारी पाउन नै सकस भएको अनुभव सुनाउँछन् ।

‘चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो, बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो, विदेशी बैंकहरु आएपछि बैंक चलाउने नेतृत्व पनि उनीहरुले नै लिएर आउँथे, बैंकिङका सुरुवाती दिनहरु स्मरण गर्दै  विकासन्युजले यसअघि गरेको कुराकानीमा उनले भनेका थिए । उनका अनुसार यो अवधिमा नेपाली बैंकिङ उद्योगले ठूलो फड्को मारेको छ ।

नेपालमा बैंक खालेपछि निश्चित कर्मचारी पनि विदेशी नै हुनु पर्ने नीति तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र महतले गरेका थिए । उनले नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको ग्रोथका लागि सो व्यवस्था गरेको उनी सुनाउँछन् ।

‘त्यतिबेला विदेशी बैंक ल्यायो भने तिनले हाम्रो राष्ट्रिय सम्पत्ति लुट्छन् भन्ने बुझाइ धेरैमा थियो, जुन बकम्फुसे कुरा थियो, मैले नै नेपालमा नयाँ बैंक खोल्नु पर्छ भन्ने कुरा गरेँ, बैंक नेपाली नै हुनु पर्यो,  विदेशी लगानी र बैंक म्यानेज्मेन्ट पनि विदेशी आउनु पर्यो भन्ने नीति बनायौं, ‘थ्री इन वान’को सिद्धान्त अघि सार्यौं, सुरुमा नेपाल अरब बैंक आयो । त्यसमा एक तिहाई उसको, एक तिहाई नेपालको व्यवसायी र एक तिहाई सर्वसाधारणको सेयर हुने भनेर नीति बनायौं, त्यसको उद्घाटन मैले नै गरेँ, त्यसपछि अरु बैंकहरु आउने क्रम सुरु भयो,’ विगत स्मरण गर्दै पूर्व अर्थमन्त्री लोहनीले भने ।

आफुले अघि सारेको सो नीतिले नेपाली बैंकिङ क्षेत्रले पनि ठूलो फड्को मारेको र जनशक्ति पनि प्रयाप्त मात्रामा उत्पादन भएको उनका बुझाइ छ । ‘म अर्थमन्त्री हुँदा धेरै निजी क्षेत्रलाई बढावा दिने नीतिहरु बनेका थिए, जसले अहिलेसम्म पनि निजी क्षेत्रका लागि महत्वपूर्ण काम गरिरहेका छन्, नेपाली बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका लागि म अर्थमन्त्री भएपछि नै धेरै उपलब्धि हासिल भएको छ,’ उनले भने ।

सो नीतिपछि नेपालमा विदेशी बैंकर ल्याउनु नपर्ने वातावरण सिर्जना भएको उनको भनाइ छ । हाम्रो नीतिले ‘नलेज ट्रान्सफर’ भयो, बरु नेपाली बैंकरहरु विदेशी बैंकमा काम गर्न गइरहेका छन्, विदेशबाट सीईओ ल्याउनु पर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘अब नेपाली बैंकर पनि अब्बल बनिसकेका छन् ।’

सोही नीतिको कारण अहिले नेपाली बैंकर विदेशी बैंकको पनि कमाण्ड सम्हालिरहेका छन् । विदेशी बैंकमा गएर पनि नेतृत्व सम्हाल्ने अवस्थामा नेपाली बैंकर पुगेका छन् । त्यसको ढोका खुला गर्ने पहिलो नेपाली बैंकर हुन् गोविन्द गुरुङ । अहिले सरकारी स्वामित्व समेत रहेको कृषि विकास बैंकको सीईओ भएर काम गरिरहेका गुरुङले म्यानमारको म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा काम गरे । तत्काली सिभिल बैंकको सीईओ भएर काम गरिसकेका उनले म्यानमारमा गएर पनि आफ्नो कार्यकुशलता देखाए । तयसपछि स्वदेशमै फर्केर उनी कृषि विकास बैंकको सीईओको रुपमा काम गरिरहेका छन् । कृषि विकास बैंकमा पनि उनले जिम्मेवारी लिएपछि अधिकांश सूचकमा बैंक बलियो देखिएको छ ।

गुरुङले नै काम गरिसकेको म्यानमार सिटिजन्स बैंकको नेतृत्व अहिले नेपाली बैंकर भेषराज खतिवडाले नै सम्हालिरहेका छन् । एक वर्षअघि म्यानमार सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर म्यानमार पुगेका उनी हालै मात्रै सीईओमा नियुक्त भएका छन् । सो बैंकबाट गुरुङले राजीनामा दिएपछि खतिवडाले कायमुकायम सीईओको जिम्मेवारी पाएका थिए । अहिले उनी सीईओ बने ।

उनै सीईओ खतिवडा म्यानमारभन्दा नेपाली बैंकिङ अगाडि रहेको सुनाउँछन् । ‘नियमनदेखि अन्य विषयमा नेपालको बैंकिङ्ग म्यानमारको तुलनामा अगाडि नै छ, अहिले नेपाली बैंकरले जुनसुकै देशमा पनि गएर काम गर्न सक्ने क्षमता बनाएका छन्,’ उनले भने ।

उनका अनुसार बैंकिङ अभ्यास र विकास अनुसार नै जनशक्ति पनि त्यसरी नै विकास हुने गर्छ । ‘१५-१६ वर्ष अघि नेपालमा पनि नेपाली सीईओ हुनै सक्दैन भन्ने खालको भाष्य थियो, विदेशबाटै सीईओ ल्याउनु पर्छ भन्ने थियो, त्यो विकासको प्रारम्भिक अवस्था थियो, त्यतिबेला नेपाली बैंकमा कोही सीईओ भयो भने नेपालीले पनि सीईओ चलाउन सक्छ र ? भन्थे । तर विस्तारै जनशक्ति पनि विकास हुँदै जान्छ, म्यानमारमा पनि केही बैंकमा नेपालीहरु कार्यरत छन्, उनी भन्छन्, ‘त्यो भनेको नेपालीहरु जहाँ गएर पनि काम गर्न सक्छन् भन्ने सन्देश हो ।’

यस्तै, अहिले सिभिल बैंकको सीईओको रुपमा काम गरिसकेका सुनिल पोखरेल पनि अहिले विदेशी बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । उनी पपुवा न्यूगिनीको टिसा बैंक लिमिटेडको नेतृत्व गरिरहेका छन् । सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि पोखरेल विदेशी बैंकको सीईओ बन्न पुगेका हुन् ।

पोखरेलसँगै सोही बैंकको चिफ रिस्क अफिसरमा पनि नेपाली बैंकर सचिनजंग रायमाझी कार्यरत छन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा काम गर्थे । उनी केही दिनअघि देखि मात्रै विदेशी बैंकमा काम गर्न थालेका हुन् ।

यी त केही प्रतिनिधि पात्रहरु हुन् । हाल धेरै नेपालीहरु विदेशी बैंकमा कार्यरत छन् । उनीहरुले आफ्नो अब्बलता विदेशी बैंकमा देखाइरहेका छन् । अब नेपाली बैंकमा विदेशी बैंकर ल्याएर काम गराउनु पर्ने बाध्यता पनि सदाका लागि अन्त्य भएको छ ।

Share News