सुर्खेत । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरबको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई बर्षभित्र पूरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।
आईतबार भेरी बबई डाइभर्सनको स्थलगत अनुगमन पछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीहरुसंगको छलफलका क्रममा मन्त्री बस्नेतले आगामी दुई बर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थपेर नहुने भन्दै मन्त्री बस्नेतले आगामी दिनमा म्याद मात्र थमौती गर्ने काम सरकारले नगर्ने बताए ।
‘ड्राईभर्सनको काम चाहे अनुसार अगाडी बढ्न सकेको छैन्, आगामी दुई बर्ष भित्रमा आयोजनाको काम सक्ने गरी कार्ययोजना बनाउनु पर्यो । कार्ययोजना अनुसार काम भए नभएको रिर्पोट अनुसार मात्र म्याद थप्ने बारे कुरा हुन्छ, नत्र जति पनि म्याद थप्ने काम सरकारले गर्न सक्दैन्’, मन्त्रीले भने ।
आयोजना प्रभावीत क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि यथासिघ्र अघि बढाउन उनले निर्देशन दिएका छन् । ‘प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्ने काम हुदैन, प्रक्रिया पुगेका नागरिकका फाईल अघि बढाई मुआब्जा लिन बञ्चित जनतालाई प्रक्रियामा लैजानुहोस’, बस्नेतले भने, ‘नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुदैन् ।’
अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका कार्यबाहक मुख्यमन्त्री मंगल शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एर्व आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतको पनि उपस्थिति रहेको थियो ।