
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गर्ने भएका छन् ।
भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले पाँच आयोजनामा निर्माणको काम गरिरहेको छ ।
नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेको बताएका छन् ।
काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा भने जति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम नभएको भौतिक पूर्वाधार मन्त्रालयको भनाई छ ।
‘१८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय भएको छ’, मन्त्रीका नीजि सचिव रामहरी शर्माले भने, ‘छलफलपछि मन्त्री आफै स्थलगत भ्रमणमा जाने कार्यक्रम तय भएको छ’ ।
नेपाली सेनाले काठमाडौं–तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । यी सबै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाएकोसहसचिव अर्जुन थापाले बताए ।
काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ । डिपीआर संशोधनपछि लागत मुल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिदा बाटोको लम्बाई पनि कम भएको छ ।
मन्त्री ज्वालाले सडक विभागअन्र्तत सञ्चालन भएका आयोजनाको ‘टाइम कार्ड’ लागु गरेका छन् । तर, नेपाली सेनाले काम गरिरहेको आयोजनाको तालिका बनेको छैन । तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको छ ।