एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको प्रगति नियालीरहेको छु : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्सन रुमबाटै राष्ट्रिय गौरवका आयोजनाको प्रगति नियालिरहेको बताएका छन् । मंगलबार संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैँ उनले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरमा कार्यतालिका बनाएर कार्य प्रगतिको जानकारी लिई कार्य सम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको बताए । उनले राष्ट्रिय गौरवका [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्सन रुमबाटै राष्ट्रिय गौरवका आयोजनाको प्रगति नियालिरहेको बताएका छन् ।

मंगलबार संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैँ उनले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरमा कार्यतालिका बनाएर कार्य प्रगतिको जानकारी लिई कार्य सम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको बताए ।

उनले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गरिनुका साथै नियमित अनुगमन भईरहेको समेत बताए ।
हालसम्म राष्ट्रिय गौरवका आयोजनामध्ये २ वटा सम्पन्न भएका, १४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र २ वटाको प्रगति ५० प्रतिशत रहेको छ ।

हुलाकी राजमार्गका सम्बन्धमा चितवन र पर्सामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डिपिआर तयार लगायतका कार्यमा भएको ढिलाइका कारण सो आयोजनाको कार्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको उनले जानकारी गराए ।

यस्तै, पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भई समष्टिगत वित्तीय प्रगति ६५.७३ प्रतिशत रहेको, लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रारम्भिक चरणको कार्यहरू मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भए पश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने उनले बताए । उक्त आयोजनाको लागि चालू आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन भएको छ ।

मेलम्ची खानेपानी आयोजनामा श्रावण महिनामा आएको बाढीले पुनः हेडवर्क्स पुर्नुका साथै मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको पहुँच मार्गमा क्षति पुगेको छ । मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी मेलम्चीको पानी वितरणलाई सुचारु गरिने उनले जानकारी गराए ।

यस्तैगरी प्रधानमन्त्री प्रचण्डले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिदैँ आएको समेत बताए ।

Share News