
फाइल फाेटाे
काठमाडौं । आईतबार स्थगित भएको संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठक आज पुनः बस्ने भएको छ ।
प्रतिनिधि सभाको सोमबार बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो । नेकपा एमालेलगायत प्रतिपक्षी दलको अवरोधका कारण आईतबार दुवै सभा बैठक स्थगित भएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक नवनिर्वाचित संसद्मा छलफल नगराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गराएको तथा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेश जाने बाटोसँग साट्न सकिने भनेर दिएको अभिव्यक्तिको विरोधमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दल एकमत हुँदै विरोधमा उत्रिएका कारण आइतबार दुवै सदनका बैठक सुरु हुनासाथ रोक्नुपरेको थियो ।
संघीय संसद् सचिवालयले आजको प्रतिनिधि सभा बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ । जसअनुसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, यसपछि अन्य विषयमा सामान्य छलफल प्रारम्भ गर्ने कार्यक्रम छन् ।
यसैगरी आज संविधानसभा सदस्य श्याम सुन्दर टिवडेवाल र नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।
यस्तै, आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने र अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र यसपछि सामान्य छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
अवरोध हटाउन छलफल
आईतबार दुवै सदनको बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले सोमबार बिहानैदेखि संसद्को अबरोध हटाउन राजनीतिक दलका प्रमुखसँग छलफल गरेका छन् ।
सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।
उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षीदलसँग संवाद गर्न आग्रह गरेका थिए ।
सभामुखसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रष्टीकरण दिने बताए थिए ।
सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षीदलहरुलाई बजेट पारित गर्ने समय सीमा बुझिदिन आग्रह गरेका थिए ।