गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा, सर्वसाधारण बेखुसी

<p>काठमाडौं । गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन [&hellip;]</p>

काठमाडौं । गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौंदेखि चर्चामा रहेको उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार स्थानमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो । आव सकिनै लाग्दा पनि उक्त सुरुङ मार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन ।

काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङ माग बनेमा लोकमार्गमा घण्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक÷सामाजिक विकासमा उक्त सुरुङ मार्गले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताए ।

‘रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ, यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ,’ उनले भने ।

केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको भनाइ छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङ मार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन ।

पोखरा–बागलुङ राजमार्गमा पर्ने उक्त सुरुङ मार्ग बनेमा डेढ घण्टाको सडक मार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किमी छ । सुरुङ मार्गले त्यसलाई सातदेखि ८ किमीमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धौलागिरिका चारै जिल्लालाई जोड्छ । सडक विभागका सुरुङ मार्ग हेर्ने इन्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जानकारी दिए ।

‘पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ, अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छ, अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुप¥यो, सुरुङ मार्ग निर्माण कहिले र कसरी सुरु हुन्छ यसै भन्न सकिँदैन,’ उनले भने ।

उक्त सुरुङ मार्ग अध्ययनका लागि सङ्घ सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो । सुरुङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको विभागले जनाएको छ । यसरी नयाँनयाँ सुरुङ मार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तर समयमा कार्यान्वयन नहुने प्रवृत्तिप्रति सर्वसाधारण बेखुसी छन् ।

घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो । सडक विभागले ‘सुरुङ मार्ग विकास कार्यक्रम’मार्फत सुरुङ मार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ ।

स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुरुङ मार्गदेखि गाँजा खेतीको सम्भाव्यता अध्ययनसम्मको योजना अघि सारेको हो । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ । गाँजा र स्थानीय मदिरालाई ‘ब्राण्डिङ’ गरेर बजारमा बेच्ने प्रदेश सरकारको लक्ष्य छ ।रासस

Share News