काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकता बिहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।
उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर विरोधमा रहेको उल्लेख गरे । उनले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणिकरणमा जानु नहुने बताए।
‘आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेसका ति तमाम नागरिकताविहिन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ, हामी यसको घोर विरोध गर्दछौं,’ उनले भने ।
राज्यले नागरिकता नदिएर मधेसका मुसहर समुदायका धेरै विद्यार्थी स्कुल जान नपाएको बताउँदै उनी भन्छन्,’उनीहरुले पोषणभत्ता समेत पाएका छैनन्, बैंकमा खाता खोल्न सकेको छैन, राज्यले आफ्नो दायित्वबाट विमुख हुने, हिजो लामो समयसम्म राजनीति गरिरहेका राजनीतिक पार्टीहरु आफ्नो दायित्वबाट पर जाने अनि यो सार्वभौम संसदमा आएको यो बेथितिविरुद्ध आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्मको हामी भारी बोक्ने छैनौँ, हाम्रो यसमा समर्थन छैन ।’
उनले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै यसरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ ।