
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । शनिवार काठमाडौंमा भएको स्व.डा. गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको बताए । उनले सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको भन्दै मुलुकमा वित्तीय संकट आउन सक्ने परिस्थिति देखिएको बताए ।
उनले निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राखेपनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको बताए । पूर्वअर्थमन्त्री पाण्डेले यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको बताए । उनले चालु आर्थिक वर्षमा करिव ९ प्रतिशत कर्जा वृद्धि भएको भन्दै अर्को वर्ष यो भन्दा बढी हुने अवस्था नभएको बताए ।
उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर जानुको विकल्प नभएको बताए । उनले अर्थतन्त्र बुझेकाहरु एक भएमात्रै देशलाई आर्थिक रुपमा सही ठाउँमा ल्याउन सकिने बताए ।
‘अहिले मुलुकको अर्थतन्त्र धेरै अप्ठ्यारो स्थितिमा देखेको छु, सरकार र निजी क्षेत्र दुवैमा दबाब छ । त्यस कारणले पनि अगाडि वित्तीय रुपमा संकट आउने हो की भन्ने लागेको छ, निजी क्षेत्रले बैंकको ब्याजदर गिरावट चाहिन्छ भनि रहेको छ तर ब्याजदरमा कमी आउने अवस्था देख्दिन, यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको छ, यसपाली ९ प्रतिशत कर्जा वृद्धि भएको छ, अर्को वर्ष यो भन्दा कर्जा वृद्धि हुने अवस्था छैन, अघिल्लो पाँच वर्ष २५ प्रतिशतले वृद्धि थियो, यो अवस्थालाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर गर्नुपर्छ, त्यस्तो भए मात्रै देशलाई सही ठाउँमा लाग्नसक्छौं, हामीले हिम्मत हार्नु हुँदैन’, उनले भने ।