
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ की पर्दैन भनेर संसदमा प्रश्न गरेका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा अध्यक्ष ओलीले सो प्रश्न गरेका हुन् ।
‘यस सरकारबाट मातृभूमिको सुरक्षा गर्न कठिन छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ की पर्दैन ? यो सरकारलाई थाहा भएको पनि देखिँदैन’, अध्यक्ष ओलीले भने, ‘प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा हटाउन सक्याछैन’, त्यहाँ बोलिदैन ।’
प्रधानमन्त्री केही दिनमा भारत भ्रमणमा जान लागेको भन्दै उनले मुख्य समस्या सो विषयमा भएको बताएका छन् । उनले भारत छिमेकी र मित्र राष्ट्र भएकाले भारतसँग हामीलाई परेका समस्या खुलस्त रुपमा किन भन्न नसक्ने भनेर प्रश्न समेत गरेका छन् ।
‘मित्रसँग आफूलाई परेको मर्का आफूलाई परेको कुराहरु खुलस्त गर्न किन नसक्ने ?, खुलस्त कुरा नगरीकन समस्या कसरी समाधान हुन्छ ? त्यसकारण खुलस्त कुरा गर्नपर्यो र समस्या समाधान गर्नपर्यो’, अध्यक्ष ओलीले भने, ‘चिसोपन राख्नुभएन, कायरपनि राख्नुभएन ।’