
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई डिलमा पुर्याउने मुख्य कारण कांग्रेस-माओवादी गठबन्धनको सरकार भएको आरोप लगाएका छन् । ओलीले आइतबार संसदमा सम्बोधन गर्दै सो बताएका हुन् ।
‘नेकपा (एमाले)को सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीको सरकार नै मुलुकको अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारक हो’, अध्यक्ष ओलीले भने । प्रधानमन्त्रीलाई सरकार राम्रो छ, सफल छ भनिदिए हुन्थ्यो भन्ने लागेको हुनसक्ने भन्दै उनले तर तथ्यांकहरुले त्यस्तो नबोल्ने बताए ।
‘तथ्यांकहरुले अर्कै कुरा बोल्छन्, हामी कसरी समर्थन गरौं ?, कसरी प्रशंसा गरौं ? अर्थतन्त्र अगाडि बढिराखेका बेला त बहुतै आक्रमण भएको थियो, त्यो सरकार नढाली नभएको थियो’, अध्यक्ष ओलीले भने । के अर्थतन्त्रलाई ओरालो लगाउनको लागि गठबन्धन बन्नुपरेको थियो भनेर ओलीले संसदमा प्रश्न समेत गरेका छन् । ‘यो गठबन्धन देश र जनताका लागि बनाएको हो की, देश र जनतालाई कष्ट दिन बनाएको हो ?’, ओलीले संसदमा गठबन्धन लक्षित प्रश्न गरे ।