काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । २६ औं पटक सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका उनले आफ्नै कीर्तिमानलाई तोडेका हुन ।
सेभेन समिट ट्रेकबाट आरोहणमा गएका उनले बुधबार बिहान साढे ८ बजे सगरमाथाको सफल आरोहण गरेका हुन ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् ।
यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनकाे नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।