
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने पनि बताए । आर्थिक अनुशासन कायम गर्ने सवालमा कुनै पनि तलमाथि गर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बेरुजु फछ्र्योट गर्ने सम्बन्धमा प्रतिवेदनले औंल्याएका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
दाहालले आर्थिक विषयमा जिम्मेवारी लिएकाले इमान्दार भएर काम गर्न र पूर्णरुपमा कार्यान्वयन कुरालाई पनि जोड दिए ।
यस्तै, महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ ले औंल्याएका विषयमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले प्रस्तुतीकरण दिएका थिए । उनले बेरुजु फछ्र्योटका सन्दर्भमा संघीय, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम, नीतिगत सुधार र अर्थ प्रशासनसँग जोडिएकाले गर्नुपर्ने कामलगायत विषयमा प्रस्तुती दिएका थिए ।
मुख्यसचिव शंकरदास बैरागीले महालेखाले उठाएका सवालमा कुनै तलमाथि नहुने गरी कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिए ।
महालेखाले क्षेत्रगतरुपमा औंल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गर्न, कमजोरी नगर्न र आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फछ्र्योटमा निर्मम बन्नै पर्ने उनको भनाइ रहेको नायब महालेखा परीक्षक रवीन्द्रप्रसाद देवकोटाले जानकारी दिए । रासस