योगदानकर्तामाथि सासु कोषको अन्याय, सकसमा श्रमिक

<p>काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध साढे ४ लाख श्रमिकले अब कोषले तोकेको अस्पतालमा मात्र उपचार गराउन पाउने भएका छन् । कोषले सातै प्रदेशमा रहेका ४४ भन्दा बढी अस्पतालसँग श्रमिकको उपचार गर्न सम्झौता गरेसँगै अब योगदानकर्ताले तोकिएका अस्पतालमा मात्रै सेवा पाउने भएका हुन् । कोषको सो निर्णयसँगै साढे ४ लाखभन्दा बढी श्रमिक अब [&hellip;]</p>

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध साढे ४ लाख श्रमिकले अब कोषले तोकेको अस्पतालमा मात्र उपचार गराउन पाउने भएका छन् । कोषले सातै प्रदेशमा रहेका ४४ भन्दा बढी अस्पतालसँग श्रमिकको उपचार गर्न सम्झौता गरेसँगै अब योगदानकर्ताले तोकिएका अस्पतालमा मात्रै सेवा पाउने भएका हुन् ।

कोषको सो निर्णयसँगै साढे ४ लाखभन्दा बढी श्रमिक अब लामो लाइन बसेर तोकिएका अस्पतालमा उपचार गराउन बाध्य हुनेछन् । यसअघि उपचार गरेको बिलका आधारमा रकम भुक्तानी गर्ने गरेको कोषले अब अस्पतालमा कार्ड देखाएर उपचार गराउने व्यवस्था लागू गरेसँगै श्रमिकहरु समस्यामा पर्ने भएका हुन् ।

पछिल्लो समय अधिकांश सरकारी अस्पतालमा उपचारको मिति लिनै ६ महिनाभन्दा बढी समय लाग्ने गरेको छ । कोषले अस्पताल तोकेपछि दुर्गमका जिल्लामा रहेका श्रमिकलाई समेत समस्या हुने देखिएको छ ।

‘सबै जिल्लाका अस्पताल कोषमा आवद्ध छैनन्, बिरामी भएपछि उपचार गराउन कोषमा आवद्ध भएको अस्पताल खोज्ने कि निजी अस्पतालमा उपचार गराउने’, कोषमा आवद्ध एक श्रमिकले भने, ‘एक दिन लगाएर अस्पताल जानुभन्दा आफ्नै खर्चमा निजी अस्पतालमा उपचार गराउन सहज भयो ।’

ती योगदानकर्ताको अनुसार कोषमा आवद्ध भएका अस्पतालमा जाने खर्चले निजी अस्पतालमा नै उपचार गराउन पुग्छ । दुर्गमका जिल्लामा रहेका श्रमिकहरु कोषमा आवद्ध भएको अस्पताल खोज्दै हिड्नुपर्ने अवस्था रहेको गुनासो गर्छन् ।

कोषका प्रवक्ता विवेक पन्थी कोषमा आवद्ध भएका योगदानकर्ता (श्रमिक) ले तोकिएको अस्पतालमा नै उपचार गर्नुपर्ने बताउँछन् । ‘हामीले श्रमिकको सहयोगका लागि नै विभिन्न अस्पतालसँग सम्झौता गरेका हौँै, तोकिएकै अस्पतालमा उपचार गर्नुपर्छ’, उनले भने, ‘सरकारी अस्पतालमा ढिलाई हुन्छ भन्नेहरुले निजी अस्पतालमा गएर उपचार गर्न सक्नु हुन्छ ।’
तर, कोषले सस्तो पर्ने अस्पताल छनोट गरेर सम्झौता गरेको छ ।

४४ अस्पतालसँग सम्झौता

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी कोषले देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।

कोषको अनुसार सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । यदि उपचारमा एक लाख रुपैयाँ खर्च हुन्छ भने त्यसको ८० प्रतिशत अर्थात् ८० हजार कोष र २० प्रतिशत अर्थात् २० हजार रुपैयाँ योगदानकर्ता स्वयम्ले व्यहोर्नु पर्नेछ ।

अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषले जनाएको छ ।

कोषका अनुसार नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा लिन सक्नेछन् ।

कोषले आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । तर, राम्रो सेवा दिने अस्पताललाई भने कोषले आफुसँग आवद्ध गराउन सकेको छैन ।

यी हुन् सम्झौता भएका ४४ अस्पताल

१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल- बिर्तामोड, झापा

२. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- बिर्तामोड, झापा

३. पशुपति मोडेल हस्पिटल- इटहरी, सुनसरी

४. हाम्रो अस्पताल- विराटनगर, मोरङ

५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- टंकिसिनुवारी, विराटनगर

६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल- विराटनगर, मोरङ

७. मोरङ सहकारी अस्पताल- सोमबारे हाट, विराटनगर, मोरङ

८. ओखलढुंगा सामुदायिक अस्पताल- ओखलढुंगा

९. रामलाल गोल्छा आँखा अस्पताल- विराटनगर, मोरङ

१०. नेसनल मेडिकल कलेज- वीरगन्ज, पर्सा

११. वीरगन्ज हेल्थ केयर अस्पताल- वीरगन्ज, पर्सा

१२. गण्डक अस्पताल- वीरगन्ज, पर्सा

१३. स्पर्स अस्पताल- वीरगन्ज, पर्सा

१४. किरण आँखा अस्पताल- वीरगन्ज, पर्सा

१५. नमुना सामुदायिक अस्पताल- हरिवन, सर्लाही

१६. जानकी हेल्थ केयर- जनकपुर, धनुषा

१७. छिन्नमस्ता अस्पताल- राजविराज, सप्तरी

१८. शुभ स्वस्तिक अस्पताल- बर्दिबास, महोत्तरी

१९. वीर अस्पताल- काठमाडौं

२०. त्रिवि शिक्षण अस्पताल- महाराजगन्ज, काठमाडौं

२१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल- स्वयम्भू, काठमाडौं

२२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल- चाबहिल, काठमाडौं

२३. काठमाडौं मेडिकल कलेज (केएमसी)- सिनामंगल, काठमाडौं

२४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल- जोरपाटी, काठमाडौं

२५. तिलगंगा आँखा अस्पताल- तिलगंगा, काठमाडौं

२६. दृष्टि आई केयर- कलंकी, काठमाडौं

२७. एभरेस्ट अस्पताल- नयाँ बानेश्वर, काठमाडौं

२८. होप अस्पताल- सिनामंगल, काठमाडौं

२९. शंकरापुर अस्पताल- गोकर्णेश्वर, काठमाडौं

३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल- सोह्रखुट्टे, काठमाडौं

३१. फ्रन्टलाइन हस्पिटल- पुरानो बानेश्वर, काठमाडौं

३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)- ललितपुर

३३. शिर मेमोरियल अस्पताल- बनेपा, काभ्रे

३४. कलेज अफ मेडिकल साइन्सेस- भरतपुर, चितवन

३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल- भरतपुर, चितवन

३६. मकवानपुर सहकारी अस्पताल- हेटौंडा, मकवानपुर

३७. चुरेहिल अस्पताल- हेटौंडा, मकवानपुर

३८. काठमाडौं क्यान्सर सेन्टर- ताथली, भक्तपुर

३९. चरक मेमोरियल अस्पताल- पोखरा, कास्की

४०. ग्यालेक्सी अस्पताल- पोखरा, कास्की

४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)- कोहलपुर, बाँके

४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)- नेपालगन्ज, बाँके

४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स- भैरहवा, रुपन्देही

४४. गौतमबुद्ध मुटु अस्पताल- बुटवल, रुपन्देही

साढे ४ लाख श्रमिक आवद्ध

कोषमा हालसम्म साढे ४ लाखभन्दा बढी श्रमिक आवद्ध भएका छन् । आईतबारसम्मको तथ्यांक अनुसार १७ हजार ८१० रोजगारदाताका ४ लाख ५३ हजार २४९ जना श्रमिक कोषमा आवद्ध भएका हुन ।

उक्त श्रमिक कोषमा आवद्ध हुँदा ३२ अर्ब ९ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै, कोषले ४ अर्ब ८ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४८ करोड औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी, ५ करोड दुर्घटना तथा अशक्तता सुरक्षा, ६ करोड आश्रित परिवार सुरक्षा र ३ अर्ब ४७ करोड अवकाश दावीमा भुक्तानी गरेको छ ।

Share News