काठमाडौं । काठमाडौं फन पार्कसहित विभिन्न ९ कम्पनी तथा व्यवसायमाथि कडा कारबाही भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार (जेठ २१ गते) गरेको अनुगमनका क्रममा ६ वटा फर्मलाई जरिवाना र ३ वटा फर्मलाई निर्देशन दिएको हो ।
विभागका अनुसार काठमाडौं महानगरपालिका-३१, भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै, शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ, नयाँ बानेश्वरस्थित रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ र पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका-७ चावहिलस्थित मोबडिल्ज र महानगरपालिका-१० बुद्धनगरस्थित गणेश मोटर बाइक वर्कसपलाई ५-५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विभागले भिमसेनगोला स्थित गर्ल्स क्लोजेट प्रालि, चावहिलस्थित रुम्बा कलेक्सन र नाचघर गल्लीस्थित डेलिसियस मःम पसललाई भने सामान्य निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्महरूको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लङ्घन तथा कानुनी प्रावधानको पालना नगरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ ।
