काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् ।
सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘मैले नै यो बैठकको आयोजना गरेको हुँ, अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ, बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं, हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’
उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको दबाब केही कम हुँदा विप्रेषणमा सुधार देखिएको बताए । ‘विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ, अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ’ उनले भने, ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु, हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’
प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको उल्लेख गर्दै राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका बताए ।
‘अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ, घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ, यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ’, उनले भने ।
यस्तै, उनले बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु नहुने भन्दै यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने उल्लेख गरे । ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ’, उनले भने ।
छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताएका थिए ।
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थिती रहेको थियो ।