काठमाडौं । आन्तरिक हवाई रुटको भाडादर बढ्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक हवाई भाडादर समायोजनको तयारी थालेसँगै हवाई भाडादर बढ्ने भएको हो ।
वायुसेवा सञ्चालनको आग्रह अनुसार भाडा समायोजनकोे तयारी थालिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् । उनका अनुसार भाडा समायोजनका लागि एउटा अध्ययन टोली बनाईएको छ ।
उनका अनुसार उक्त टोलीले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पेश गरिनेछ । मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै भाडा समायोजन कार्र्यान्वयनमा आउनेछ ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि आन्तरिक हवाई भाडादर समायोजन गर्दा सबै रुटको भाडादर बढ्ने भएको छ ।
‘वि.स. २०७३ सालपछि हवाई इन्धनको मूल्य उच्च रुपमा बढेको छ, हवाई इन्धनको मूल्य बढेपछि भाडादर स्वत बढिहाल्छ’, सूचना अधिकारी भुलले भने, ‘लामो समयदेखि भाडा समायोजन नहुँदा हामीलाई दबाब परेको छ, दुर्गम क्षेत्र हवाई सेवा कोष पुनः सञ्चालनको तयारीसँगै भाडा समायोजन अघि बढाएका हौँ ।’
लामो समयदेखि भाडा समायोजन नभएको भन्दै वायुसेवा सञ्चालकहरुले समायोजन गर्न दबाब दिदैँ आएका छन् ।
प्राधिकरणले हाल सञ्चालन भएका रुटमा न्यूनतमदेखि अधिकतम भाडादर तोक्नेछ । प्राधिकरणले तोकेको सिलिङमा रहेर सबै वायुसेवा कम्पनीहरुले भाडादर निर्धारण गर्ने गर्छन् ।