काठमाडौं । कृषि विकास बैंकले लेखापरीक्षक (अडिटर)लाई स्पष्टिकरण सोधेको छ । बैंकको वार्षिक प्रतिवेदनमा लेखापरीक्षकले त्रुटि गरेको भेटिएपछि मौखिक स्पष्टिकरण सोधेको बैंकले जनाएको हो ।
बैंकको लेखापरीक्षकले वार्षिक प्रतिवेदनमा लेखापरीक्षण शुल्कमा जनतालाई झुक्याउने गरी तथ्याङ्क उल्लेख गरेपछि स्पष्टिकरण सोधेको बैंकका एक उच्च अधिकारीले विकासन्युजलाई बताए ।
कृषि विकास बैंकले गत आर्थिक वर्षको लेखापरीक्षण गर्दा झण्डै ८२ लाख रुपैयाँ बराबरको रकम अडिटरलाई तिरेको प्रतिवेदनमा उल्लेख छ । यस विषयमा विकासन्युजले ‘मिलेमतोमा बैंकको बदमासी ढाकछोप गर्दै अडिटर‘ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही विषयमा बैंकले अडिटरलाई बोलाएर स्पष्टिकरण सोधेको बैंकका उच्च अधिकारीले बताए ।
‘अडिटरको शुल्कलाई किन एउटै सूचकमा राखेको भनेर सोधेको छौँ, सीएलाई बोलाएर आन्तरिक र वाह्य लेखापरीक्षको शुल्क छुट्याएर राख्नु पर्दैन् ? भनेर स्पष्टिकरण सोधेको औँ,’ उनले भने ‘आगामी दिनमा आम मान्छेले बुझ्ने गरी वित्तीय प्रतिवेदनमा शुल्क राख्नुपर्याे, तपाईं एउटैले मात्रै बुझेर हुँदैन भनेर सम्झायौं।’
बैंकले आर्थिक वर्ष २०७८/७९ मा ८१ लाख ९० हजार रुपैयाँ शुल्क तिरेर लेखापरीक्षण गराएको देखिन्छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा लेखापरीक्षण गराउँदा २२ लाख १६ हजार रुपैयाँ मात्रै लेखापरीक्षक शुल्क तिरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष २६९ प्रतिशत बढी शुल्क तिरेको तथ्याङ्कले देखाउँछ ।
वार्षिक प्रतिवेदनको तथ्याङ्कमा फरक परेपनि बैंकले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गरे बापत लेखापरीक्षकलाई मूल्य अभिवृद्धि कर बाहेक प्रतिव्यक्ति ८ लाख ३३ हजार ५ सय रुपैयाँका दरले ३ जनालाई कूल २५ लाख ५ सय रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ ।
बैंकले तिरेको लोखापरीक्षक शुल्कमा आन्तरिक र वाह्य दुवै शुल्क समावेश गरिएको बैंकले जनाएको छ । लेखापरीक्षण गर्नका लागि कर्मचारी नपुगेर आउटसोर्सिङबाट अडिट गराएको बैंकको भनाइ छ ।
‘लेखापरीक्षकको पारिश्रमिकमा वैधानिक लेखापरीक्षण, कर लेखापरीक्षण, राजस्व लेखापरीक्षण र आन्तरिक (आउटसोर्सिङ)को लेखापरीक्षण शुल्क समावेश छ, वाह्य लेखापरीक्षकको शुल्क २५ लाख मात्रै हो, कर्मचारी नपुगेर आउटसोर्सिङबाट अडिटगरिएको हो,’ बैंकका उच्च अधिकारीले भने ।
सबै बैंकले राष्ट्र बैंकको ढाँचा अनुसार नै लेखापरीक्षण शुल्क उल्लेख गर्नुपर्ने व्यवस्था छ । तर, कृषि विकास बैंकले वार्षिक प्रतिवेदनमा आन्तरिक र वाह्य लेखापरीक्षकको शुल्क एउटै सूचकमा राखेको देखिन्छ ।
सम्बन्धित सामाग्री :
मिलेमतोमा बैंकको बदमासी ढाकछोप गर्दै अडिटर