धमाधम पलायन हुँदै सीएहरु

  २०७९ चैत १६ गते १६:०३     सीआर भण्डारी

(फोटो सामाजिक सञ्जालबाट साभार)

काठमाडौं ।  सीए डा.सुवोध कुमार कर्णले चिनेजानेका केही विद्यार्थीहरुले हालै सीए पास गरे । सीए पास गरेपछि ती विद्यार्थीहरुले डा.कर्णसँग जागिर दिन माग गरे । तर, डा.कर्णले उनीहरुलाई विदेश जान सल्लाह दिए । नेपालमै बसेर बेरोजगार हुनु भन्दा विदेश जान उनले सुझाव दिए ।

चार्टर्ड एकाउन्टेन्ट्स पढेपछि रोजगारीका लागि भौँतारिनु पर्दैन, जागिर शुनिश्चित हुन्छ भन्ने मान्यता छ । यो मान्यता अन्तर्राष्ट्रिय हो । तर, यथार्थमा भने फरक छ । डा. कर्णका अनुसार पछिल्लो समय रोजगारीका अवसरहरु गुम्दै गएपछि सीएहरु धमाधम विदेश पलायन भइरहेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अनुसार नेपालमा १ हजार २७८ जना सीएहरु छन् । आईक्यानबाहेक बजारमा २ हजार ५ सयभन्दा बढी सीएहरु रहेको अनुमान छ । नेपालमा ५/१० हजारसम्म चार्टर्ड एकाउन्टेन्ट्स (सीए) आवश्यक रहेको बुझिन्छ । यति थोरै संख्यामा रहेका सीएहरु नै शुनिश्चित भएको जागिरलाई चटक्कै छाडेर विदेश पलायन भइरहेको स्वयम् सीएहरु नै बताउँदै आएका छन् । नेपाली सीएहरु पलायन हुने क्रम बढ्दो रहेको जानकारहरु बताउँछन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सीए भास्कर सिंह लालाका अनुसार पछिल्लो समय जुनसुकै क्षेत्रका मान्छेहरु पलायन भइरहेका छन् । तर, अन्य क्षेत्रका युवाहरुको तुलनामा नेपाली सीएहरु धेरै रहेको उनले बताए । भर्खरका पासआउट भएका सीएहरु पलायन हुने संख्या बढी रहेको उनको भनाइ छ ।

‘जुनसुकै क्षेत्रका मान्छेहरु पनि पलायन भइरहेका छन्, नेपालमा सीएहरुको संख्या कम छ, तैपनि भर्खरका भाईबहिनीहरु विदेश पलायन भइरहेका छन्,’ उनले भने ।

नेपालमा सीएहरुका लागि अवसर कम भएकाले विदेश गइरहेको उनले बताए । अवसर बढी पाइने ठाउँमा पलायन हुनु स्वभाविक रहेको उनको भनाइ छ । यदि स्वदेशमै अवसरहरु भएमा पलायन हुनु पर्ने बाध्यता नरहेको अध्यक्ष लाला बताउँछन् । उनका अनुसार कति जना विदेश पलायन भएका छन् भनेर गणना नगरेको भएपनि संख्या धेरै छ ।

‘राम्रो भविष्य जसले पनि चाहन्छ, दक्ष जनशक्ति पलायन पक्कै भएका छन्, आईक्यानले को कहाँ गएको छ भनेर रिपोर्टिङ गरेको हुँदैन तर, अनुमानित वार्षिक ८० देखि १०० जना सीएहरु पलायन भइरहेका छन्,’ उनले भने ।

पछिल्लो समय अर्थतन्त्र संकट परेकै कारणले मात्रै पलायन भएको भन्न नमिल्ने अध्यक्ष लाला बताउँछन् । पहिला फाट्टफुट्ट विदेश पलायन भएपनि अचेल भने संख्या बढेको उनले बताए । सरकारको नीतिका कारण पनि सीएहरु पलायन हुनु परेको उनको गुनासो छ ।

‘विदेशमा सीएहरुले छिटो काम पाउँछन्, पीआर पनि सहजै पाइरहेका हुन्छन्, त्यसैले संख्या बढेको हो, अर्थतन्त्र चलायमान भएपछि अवसर धेरै आउँछन्, स्वदेशमै नयाँ उद्योगधन्दा तथा ब्यापार व्यवसाय बढेपछि रोजगारी श्रृजना हुन्छ,’ उनले भने, ‘अन्यले मजदुरले पनि रोजगारी पाउँछन्, त्यसपछि विदेश जाने संख्या घटाउन सकिन्छ, आइक्यान एक्लैले मात्र विदेश जान रोक्न सक्दैन, विदेश नजानुस यहि नै तपाईको लागि सुरक्षित छ भन्ने स्थिती पनि छैन ।’

आइक्यानले उत्पादन गरेका दक्ष जनशक्ति देश तथा विदेशमा रोजगारीका लागि अब्बल हुने उनले बताए । नेपालमा पनि सीएहरुको माग धेरै भएपनि पलायन भइरहेको प्रति उनले चिन्ता ब्यक्त गरे ।

आईक्यानका काउन्सिल सदस्य आरए भोलानाथ पाठक नेपालमा अडिट गरेर जीवन धान्न गाह्रो भएकाले विदेश पलायन भइरहेको बताउँछन् । दैनिक २/४ जना नेपाली सीए विदेश गइरहेको उनको भनाइ छ ।

‘स्वदेशमा अडिट गर्न गाह्रो छ, अडिट गर्ने की नगर्ने, प्रोफेसनमा जाने की नजाने भनेर दुविधामा छन्, त्यसैले नेपालमा अडिट गरेर खानुभन्दा विदेश जान सहज मानिरहेका छन्, दैनिक २/४ जना सीए अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश गइरहेका छन्, नेपालमा काम गर्ने मनस्थितीमा सीएहरु छैनन्,’ उनले भने ।

वाणिज्य बैंकका एक उच्च अधिकारीका अनुसार सीएहरुलाई स्वदेशमा काम गर्ने सहज वातावरण नभएकाले विदेश पलायन हुनु परेको छ । कम्पनीमा कार्यरत कर्मचारीले गरेको खुरापाति तथा घोटलामा सीएलाई फसाइने जस्ता गतिविधिले काम गर्न असहज रहेको उनको भनाइ छ ।

‘यो देशमा काम गर्न सहज छैन, कुनै कम्पनीले एक वर्षमा खुरापाती काम गरेर घोटाला गरेका हुन्छन्, वर्षभरि २/३ सय शाखा कार्यालयमा भएको कारोबार सीएहरुले एकडेढ महिनामा हेर्छन्, कुनै कुरा छुटेपछि सीएलाई जेल हाल्छन्,’ उनले भने, ‘ अडिटरले स्याम्पल मात्रै परीक्षण गरेका हुन्छन्, सीएले केही पनि बदमासी गरेको हुँदैन, बिना कारण जेल जानुपर्ने देशमा कोही पनि बस्दैनन् ।’

कम्पनीका व्यवस्थापन समूह र सञ्चालकहरुले गरेको गल्तिमा सीएहरुलाई जेल हाल्नु न्यायसंगत नरहेको उनको भनाइ छ । सीए समेत रहेका उनी यो क्रम अझै बढ्ने बताउँछन् ।

उनका अनुसार कुनै पनि देशमा सीएहरुलाई जेल हाल्ने कानुन छैन । सीएहरुलाई आईक्यानले नियमन गरेर मात्रै कारवाहीको दायरामा ल्याउनु पर्ने उनले बताए । अन्य क्षेत्रबाट सीएहरुलाई ह्यारेसमेन्ट गर्ने किसिमका गतिविधि भइरहेको उनको भनाइ छ ।

‘बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ तर, आईक्यानको माध्यमबाट कारवाही हुनु पर्छ, आइक्यानले सिफारिस गरेपछि मात्रै जेल हाल्नुपर्छ, बिना कारण प्रहरीले झ्याप्पै समातेर लिन मिल्दैन,’ ती बैंकका अधिकारीले भने ।

उनका अनुसार नेपालमा करिब २ हजार ५ सय सीएहरु छन् । जसमध्ये ४ वर्षको अवधिमा ५ सय जना सीए विदेश पलायन भएका देखिन्छन् । अहिले पनि नेपालमा पढ्ने विद्यार्थी नहुँदा कलेजहरु रित्तिँदैछन् । एक महिनामा १० हजार विद्यार्थी विदेश पलायन भइरहेका छन् । उनीहरुले नेपालमा भविष्य नदेखेर विदेश पलायन भएको उनले बताए ।

‘यो भयाभव स्थिती रोक्नलाई सबै कामहरु सिस्टममा चल्नुपर्छ, रोजगारी श्रृजना गर्नुपर्छ, अनावश्यक रुपमा व्यवस्थापन समूह र सञ्चालकहरुले गरेको गल्तिमा सीएलाई मुछ्ने काम बन्द भएपछि विदेश जाने संख्या कम हुन सक्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका सञ्चालक समेत रहेका सीए डा.कर्ण पास भएका सीएहरुले बजारमा काम नपाएको बताउँछन् । साथै, बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा रोजगारीका अवसर पनि खुम्चिएको उनको भनाइ छ ।

‘वित्तीय संस्थाहरु मर्ज हुँदा भएका कर्मचारी पनि निकाल्नु परेको छ, दुई वटा बैंक मर्ज हुँदा एउटा शाखा मात्रै सञ्चालन गर्नपर्ने हुन्छ, एउटा शाखा मात्रै हुँदा बाँकी कर्मचारी निकाल्नुपर्छ, काम गरिरहेका कर्मचारी निकालिरहेका बेला नयाँ कर्मचारी राख्ने स्थिती छैन,’ उनले भने, ‘सीए उच्च योग्यता भएको पद हो, त्यसैले उसले काम पाएको छैन, स्वदेशमा जागिर पाएन भने विदेश जानु पर्ने बाध्यता हुन्छ, सीएहरुको पलायन तिव्र भइरहेको छ ।’

नेपालमा बल्ल मन्दी सुरु हुन थालेको उनी बताउँछन् । अन्य क्षेत्रका कर्मचारी पलायन भएपनि सीएहरु धेरै रहेको उनको भनाइ छ । विदेशमा सजिलै काम पाइने भएपछि पलायन हुन लागेको उनले बताए ।

‘जनताहरु ऋण तिर्न सकिरहेका छैनन्, शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार छन्, युवाहरु धमाधम विदेश पलायन भइरहेका छन्,’ उनले भने, ‘राजनीतिक दलहरु भने सत्ताकै लागि लुछाचुँडी गरिरहेका छन्, उनीहरुलाई को मन्त्री बन्ने, सत्ता कसरी टिकाउने भनेर चिन्ता छ, अर्थतन्त्र र जनताका विषयमा कसैलाई मतलब छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.