काठमाडौं । गत फागुन १५ गते सोमबारको दिन सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ३ की किशोरी नोर्नी वाङमु लामाको मृत्यु भयो । निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजना निर्माणको लागि लगेको विद्युतका तारबाट करेन्ट लागेर उनको मृत्यु भयो ।
७ कक्षामा पढ्ने नोर्नी वाङमु घरको काम गर्नको लागि विद्यालय नगई घरमै बसिन् । गाउँ घरमा आलु रोप्ने चटारो । नोर्नी वाङमुसँगै दाजु राजमान लामा र आमा सोमरानी तामाङ आलु रोप्न बारीमा निस्किए ।
जुगल गाउँपालिकाको सिम खोलामा निर्माणाधीन न्यासिम खोला जलविद्युत आयोजना सीता हाइड्रोपावर कम्पनीले निर्माण गर्दैछ । सो आयोजनाको निर्माणको लागि प्रसारण लाइनबाट ११ हजार भोल्टेजको डाइरेक्ट बिजुलीको लाइन प्रवाहित थियो । तार अड्याइएको पोलदेखि तीन मिटर पर नोर्नी वाङमुुसहित दाजु र आमा काममा व्यस्त थिए ।
जलविद्युत निर्माणको लागि लगेको विद्युतका तारहरू नाङ्गा थिए । पहिला नै तारको सुरक्षित व्यवस्थापन गर्नु भनेर कम्पनीलाई स्थानीयले पटक–पटक आग्रह गरिरहेका थिए । कम्पनीले स्थानीयको कुरा चासो दिएन ।
तर, बारीमा काम गरिरहेकी नोर्नी वाङमुुलाई एक्कासी करेन्ट लाग्यो र घटनास्थलमै मृत्यु भयो । दाजु राजमान र आमा सोमरानी भने करेन्ट लागेर घाइते भए । सीता हाइड्रोपावरले जलविद्युत निर्माणको लागि लगेको विद्युतका तारहरू लापरबाही ढङ्गले छाड्दा उक्त घटना हुन पुगेको स्थानीय बताउँछन् ।
नोर्नी वामु मृत्यु हुनु अघि आयोजनाकै लापरबाहीका कारण वि.सं. २०७४ फागुन ६ गते मजदुर सरोज थारुको पनि मृत्यु भएको थियो । त्यस पश्चात् स्थानीयले वि.सं. २०७५ फागुन ६ गते निवेदन दिई आयोजना सुधार गरेर मात्र सञ्चालन गर्न माग राखेका थिए । तर, आयोजनाले कुनै मर्मत सूचना नै नदिई २०७५ फागुन १४ गते पुनः लाइन प्रसारणमा ल्यायो र सोही लापरबाहीले पछिल्लो घटना घट्न पुग्यो ।
दुर्घटनापछि स्थानीय आक्रोशित भए । नोर्नी वामुका साथी रस्थानीय मिलेर आयोजनामा तोडफोड पनि गरे । स्थानीयद्वारा आयोजनामा सामान्य क्षति हुन पुग्यो । स्थानीयले घटना बारे वास्तविक छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गरिरहेका बेला सीता हाइड्रोपावरले भने जलविद्युत आयोजनामा तोडफोड गरेको आरोपमा करोडौंको बिगोसहित घटनामा संलग्न २२ जना विरुद्द मुद्दा दायर गरेको छ ।
यो बिचमा धेरै छलफल भयो । विद्युत निर्माण कम्पनीले आयोजनामा तोडफोड हुँदा १२ करोड क्षति भएको बताएको छ । आयोजना कम्पनीले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपुर्ति दिने र परिवारका एक सदस्यलाई रोजगारी दिने प्रतिवद्धता गरेपनि त्यो प्रतिवद्धताले पूर्णता पाएन । अहिले पीडित परिवार र स्थानीयहरुले क्षतिपुर्तिको मागसागै मुद्दा फिर्ता लिनु पर्ने माग राखिरहेका छन् ।
उनीहरुले २२ जना विरुद्ध दर्ता गरेको मुद्दा फिर्ता नलिएसम्मर पीडित परिवारले क्षतिपुर्ति नपाएसम्म काम अगाडि बढाउन नदिने अडान राखेका छन् । जुगल गाउँपालिकाका पूर्व अध्यक्ष होम नारायण श्रेष्ठले २२ जना विरुद्ध मुद्दा फिर्ता र पीडितलाई क्षतिपूर्ति दिई सुरक्षित कामको प्रत्याभूति नदिलाएसम्म काम अगाडि बढाउन नदिने बताए ।
‘हामी विकास विरोधी होइनौं, आयोजनाको काम अगाडि बढाउनु पर्छ, तर हाम्रो माग सम्बोधन नहुजेलसम्म काम गर्न दिदैनौ, उहाँहरू शक्तिको आडमा हिँड्नु भएको छ, अहिले २२ जना विरुद्ध मुद्दा दायर गर्नु भएको छ, २२ जना मात्रै होइन माग पुरा नभए गाउँपालीका नै जेलमा जान तयार छ तर काम अगाडि बढाउन दिँदैनौं,’ उनले भने ।
स्थानीय कमल नेपालले माग सम्बोधन भए मात्र काम गर्न दिने बताए । ‘पटक–पटक निर्माण कम्पनीसँग समन्वय गर्न खोज्दा पनि सकेनौं, घटनासँग नजोडिएका गाउँलेमाथि पनि पनि मुद्दा दायर गरियो, पीडितलाई न्याय दिनु पर्ने ठाउँमा आफै न्याय माग्दै हिँड्नु भएको छ,’ उनले भने ।
यस विषयमा हाइड्रोपावर कम्पनीका सञ्चालक सीताराम तिमिल्सीनासँग कुरा गर्न खोज्दा पनि उनीसँग सम्पर्क हुन सकेन । अध्यक्ष तिमिल्सिनाका पुत्र तथा सञ्चालक समितिका सदस्य प्रल्हाद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न भएको भन्दै २२ जना स्थानीय विरुद्ध जाहेरी हालेका हुन् ।
जिल्ला अदालत सिन्धुपाल्चोकले जाहेरी परेकाहरूविरुद्ध पक्राउ पूर्जी पनि जारी गरिसकेको छ । जसमा जुगल गाउँपालिकाका वडा नं. ३ का अध्यक्षसहित वडा सदस्य लगायतका स्थानीयहरु छन् । पक्राउ पुर्जी नै जारी भएपछि अहिले गाउँमा त्रास सिर्जना भएको छ ।
यसअघि स्वतन्त्र उर्जा उत्पादक संघले यो घटना विषयमा पत्रकार सम्मेलन पनि गरेको थियो । संघले भने घटनामा संलग्नलाई कारवाही हुनु पर्ने माग राखेको थियो । यस विषयमा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो । प्रचण्डले पनि कारवाही हुनु पर्ने धारणा राखेका थिए ।