काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
कोराना समयमा कर्जा प्रवाह नहुँदा बैंकले उद्योगी व्यवसायीलाई बिना योजना सस्तो ब्याजदरमा ऋण दिएकाे तर तत्कालिन समयमा हचुवाको भरमा लिएको ऋण सदुपयोग नहुँदा अहिले समस्या देखिएको उनी बताउँछन् ।
‘बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्याउने खास खासमा क्षेत्रमा प्राथमिकताका आधारमा प्रवाह हुनुपर्छ,’ उनले भने ‘राष्ट्र बैंक नियामक निकाय भएपछि बैंक तथा वित्तीय संस्थाले केकस्ता क्षेत्रमा कर्जा प्रबाह गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो ।’
नेपाल राष्ट्र बैंकको अकर्मण्ड्यता र सरकारको अदुरदृष्टिको मार अहिले उद्योगी व्यवसायीले भोग्नु परेको उनले बताए । ‘हामीले कृषि क्षेत्रलाई उकास्न सहुलियतपूर्ण कर्जा दियौं तर त्यसको अर्थतन्त्रमा केकति योगदान भयो ? यस विषयमा सरकारले अध्ययन अनुसन्धान गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने ।