काठमाडौं । संयुक्त अधिराज्य बेलायतका सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् । काठमाडौँमा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सांसद चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारीरूपमा वहन गर्न सक्ने उनले बताए ।
कुनै पनि सांसदको सचिवालयले बहन गर्ने भूमिका बृहत्तररूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकामा उनको जोड थियो ।
‘सांसद एक्लैले गरेर केही हुँदैन, सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ, बेलायती संसद्मा रहेर काम गरिरहँदा मेरो अनुभव पनि यही हो, मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस अफ कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन,’ सांसद शर्माले भने ।
बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट ४ जना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए ।
‘उनीहरूको जिम्मेवारी पनि तोकिएको हुन्छ, टोलीमा सबैले आफ्नो जिम्मेवारीअनुसार काम गर्छन्, काममा दोहोरोपन हुनुभएन, टीमवर्कमा विश्वास हुनुपर्छ,’ उनले भने ।
कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्दामा संसद्मा प्रभावकारीरूपमा उठाउन राजनीतिक टोलीको आवश्यकता औँल्याए ।
‘हामीले निर्वाचन क्षेत्रका मुद्दाहरूमा पनि काम गर्नुपर्छ। त्यस्तै, राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौं,’ उनले भने ।
बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरूलाई पनि लाभ हुने सांसद चौधरीको विश्वास थियो । कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी–१ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौँमा राजनीतिक सचिवालय बनाएका छन् ।