काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । सरकारलाई विश्वासको मत प्रदान गरेर पनि प्रतिपक्षमा बस्दै आएको पार्टीले पछिल्लो पटक विकास भएको राजनीतिक समीकरणमा सरकारलाई थप सहयोग गरेर सत्ता पक्षमा बस्ने भएको हो ।
सत्तापक्षमा बसेर आवश्यक जिम्मेवारी निर्वाह गर्न लागेको पार्टीका उपमहासचिव एवं कार्यालय सचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सोमबार विश्वासको मत प्रदान गर्न निर्णय गरेको उक्त पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।
पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा सङ्गठनका प्रतिनिधिले देशभरबाट जनभावना बुझेर निर्णय गरिने छ । सङ्घीय प्रतिनिधिसभामा पार्टीका १० सदस्य निर्वाचित छन् ।