काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा दर बढेको निष्कर्श निकालेको छ । राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले चालू आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमाससम्म खराब कर्जा बढेको बताएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म थोक कर्जा प्रदायक र खुद्रा प्रदायक लघुवित्त संस्थाहरुको खराब कर्जामा वृद्धि भएको छ ।
थोक प्रदायक लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा १२१.०२ प्रतिशत छ भने खुद्रा प्रदायक लघुवित्त संस्थाहरुको ८२.६२ प्रतिशत बढेको हो । पुस मसान्तसम्म थोक प्रदायक लघुवित्तको खराब कर्जा ५२ करोड रुपैयाँ छ भने खुद्रा प्रदायक लघुवित्तको १८ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा थोक प्रदायक निष्क्रिय कर्जा १२.०३ प्रतिशत घटेको थियो भने खुद्रा प्रदायकको निष्क्रिय कर्जा १७.०३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा थोक प्रदायक लघुवित्तको सक्रिय कर्जा भने २.६९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा थोक प्रदायक लघुवित्त संस्थाहरुले ५९ अर्ब ७८ करोड रुपैयाँ कर्जा तथा सापट रकम लिएका छन् । कुल कर्जा तथा सापटी रकम गत असारको तुलनामा ३.१७ प्रतिशत वृद्धि भएको हो ।
यस्तै, समीक्षा अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरुले ३ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ कुल कर्जा तथा सापट रकम लिएका हुन् । जुन गत असार मसान्तसम्मको तुलनामा ०.०८ प्रतिशत बढी हो ।
यस्तै, लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमासमा लघुवित्त संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशत वृद्वि भएकोमा चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, समिक्षा अवधिमा लघुवित्त संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशत वृद्धि भएर ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशत घटेर ३२ लाख ६० हजार रहेका छन् ।
[pdf id=394968]